काठमाडौं । नेकपा (माओवादी केन्द्र)को सोमबारयता लगातार बसेको केन्द्रीय समिति बैठक पदाधिकारी टुंगो लगाउन असफल भएको छ ।
बिहीबार बसेको अन्तिम बैठक स्थायी कमिटी सदस्य संख्या र पोलिटब्युरो सदस्य टुंग्याउन सफल भए पनि पदाधिकारी चयनमा भने असफल रह्यो ।
पदाधिकारीमा कार्यकारी पद मानिने महासचिवका प्रमुख दाबेदार मानिएका जनार्दन शर्मामाथि संसदीय छानबिन चलिरहेकाले त्यो नटुंएिसम्म पदाधिकारी चयन नगरिएको हो ।
केन्द्रीय सदस्य हिमाल शर्माले मधेसका कतिपय नेताहरूमाथि निर्वाचनका बेला पार्टी हितविपरीत कार्य गरेको भन्दै कारबाहीको माग उठेको र पूर्वअर्थमन्त्री शर्मामाथि पनि संसदीय छानबिन भइरहेकाले पदाधिकारी चयन प्रक्रिया रोकिएको हो । शर्मामाथिको छानबिन सकिनेबित्तिकै पदाधिकारी चयन हुने उनले बताए ।
पार्टीको वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर महराको नाममा भने सहमति भइसकेको शर्माले बताए । महासचिवलगायत अन्य पदमा भने १० दिनपछि टुंगो लगाइनेछ ।
महासचिवका मुख्य दाबेदार वर्षमान पुन पनि हुन् । शर्माको सम्भावना भने संसदीय छानबिनको रिपोर्टमा भर पर्ने नेताहरूले जनाएका छन् । ‘संसदीय छानबिन समितिले के निर्णय गर्छ, त्यसले नै पार्टीभित्रको भूमिकालाई पनि तय गर्छ,’ पार्टीका एक नेताले भने ।
माओवादी केन्द्रभित्र नेताहरू पम्फा भुसाल, हरिबोल गजुरेल, देव गुरुङ, शक्ति बस्नेत र गिरिराजमणि पोख्रेलले पनि पार्टीको कार्यकारी भूमिका अर्थात् महासचिवमा रुचि देखाएका छन् । यो समाचार नागरिक दैनिकमा छ ।