विलासिताको सामान विदेशबाट आयात गर्नमा सरकारले रोक लगाएको समाचार आएसँगै जनतामा (खासगरी) किसान तथा व्यावसायीहरुमा एकखालको खुशी छाएको छ । यो खुशी कतिञ्जेल रहन्छ त्यो भने हेर्न समय लाग्नेछ ।
किसानले आफूले उत्पादन गरेका खाद्यान्न तथा अन्य उपभोग्य वस्तुले बजार पाउने छ र उचित मूल्य पनि पाउने छ भन्ने झिनो आशाका कारण उनीहरुमा खुशीको सञ्चार भएको हो । तर हालसम्म यस्तो देख्न नपाएका कारण धेरै खुशी मनाउनु पर्ने भने छैन ।
मिडियाहरुमा आउने समाचार तथा विभिन्न समयमा विभिन्न विषयमा विज्ञहरुले दिने जानकारीका अनुसार दैनिक अरबौंको मासु, तरकारी, चामल जस्ता अतिआवश्यक वस्तुहरु भारत तथा तेस्रो मुलुकबाट नेपाल भित्रिन्छ । त्यस्तै गाडी तथा अन्य प्राविधिक सामानहरुपनि अर्बौंको सामान आयात हुन्छ ।
हिजो आज नेपालको राजनीतिक बजारमा सरकारले राष्ट्र बैंकका गभर्नरलाई बर्खास्त गरेको समाचार निकै चर्चा छ । गभर्नरका कारण नेपालको अर्थतन्त्र धरासायी बन्दै गएको भन्ने आरोपमा उनलाई कारवाही गरिएको जनाइएको छ । साथै अर्को एक प्रसंगमा उनले विदेशबाट नेपाल आउने कालो धनलाई पैसा खाएर सेतो बनाउन लागेको भन्ने आरोप पनि लागेका छ ।
यी आरोपहरु कति सत्य हुन् वा होइनन्, यो थाहा पाउन त साय लाग्ला नै तर सामान्य आँखाले हेर्दा यस्ता रकमकलमका घटना त पहिले पनि हुने गर्दथे । उसो भए के हालका गभर्नरकै कारण नेपालको अर्थतन्त्र डामाडोल हुनै लागेको हो त ? प्रश्न त जटिल नै छ ।
अर्थशास्त्रको सामान्य विद्यार्थी वा नेपालको अर्थप्रणालीलाई सामान्य रुपमा मात्रै पनि बुझेको मानिसले कसैले हालै मात्र गरेको कामको आधारमा मात्रै देशकै अर्थतन्त्र डामाडोल हुन थाल्यो भन्ने आधार भने छैन ।
कुनै पनि देशको अर्थतन्त्र एकाएक ढल्दैन वा एकाएक तिब्र गतिमा विकास हुने पनि होइन । अर्थतन्त्रको विकास राम्रो हुन वा यसको विकासको यात्रा ओरालो लाग्न समय लाग्छ । त्यसकारण हालका गभर्नरले बेवास्ता गरेका कारण वा उनको कमजोरीका कारणले अर्थतन्त्र आरालो लाग्नुमा धेरै पहिलेदेखिको अर्थप्रणाली र यसलाई संचालन गर्ने राजनीतिक प्रणाली नै आज ओरालो लाग्दै गरेको अर्थतन्त्रको कारण हो भन्न सकिन्छ ।
यसो भन्नुका पछाडी धेरै कारणहरु छन् । मुख्य कुरा त राज्यले लिने अर्थप्रणाली कस्तो छ भन्ने कुराले नै प्रभाव पार्दछ । राणकालदेखि पञ्चायतहुँदै बहुदल र आजको गणतन्त्रमा पनि राज्यले लिएको अर्थ प्रणाली नै यसको कारण हो । राणा र राजाहरुले सञ्चालन गरेको अर्थ प्रणाली वा उत्पादन प्रणालीमा खासै भिन्नता नभएका कारण आज नेपालको अर्थतन्त्र खतरामा परेको हो भन्नेमा विवाद छैन ।
राज्यले उत्पादनमुखी अर्थप्रणाली लिंदा वस्तुको उत्पादन बढ्छ र आफूलाई आवश्यक पर्ने भन्दा बढी भएका विदेशी बजारमा निर्यात गरिन्छ । त्यसबाट कमाई हुन्छ । तर आफूले विदेश निर्यात गर्ने सामान वर्षेनी घट्दै जाने तर विदेशबाट आयात गरिने सामानको अनुपात बढ्दै गएपछि पैसा पनि वर्षेनी विदेशिंदै जान्छ र गइरहेको छ ।
यसले गर्दा सजिलै भन्न सकिन्छ कि आयात भन्दा निर्यात थोरै भएपछि व्यापार घाटा बढ्छ । आयात बढ्ने तर निर्यात घट्दै गएपछि विदेशी पैसा कमाई घट्दै जान्छ । यसो हुँदा विदेशी मुद्रा सञ्चय घट्छ र देशको अर्थतन्त्र समस्यामा पर्छ ।
त्यसकारण हालको समस्या पनि विगत लामो समयदेखि यस्तै हुँदै आएका कारण आज यो समस्या आएको हो । त्यसैले सरकारले आफ्नै देशमा आफूलाई आवश्यक पर्ने सामान आफै उत्पादन गर्नेमा जोड दिने गर्नुपर्छ र विदेशी सामानलाई कम महत्व दिंदै जानुपर्छ ।
अतिआवश्यक पर्ने वस्तु मात्रै विदेशबाट खरिद गर्ने गर्नुपर्छ । आत्मनिर्भर अर्थतन्त्र नै गणतन्त्रको मूल आधार भएकोले यतातिर राज्यले ध्यान दिनुपर्छ ।