काठमाडौं । नेपाली कांग्रेस चितवनको १४औँ जिल्ला अधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि शुक्रवर बिहानैदेखि मतदान सुरु भएको छ । नारायणगढको नारायणीकला मन्दिरमा मतदान सुरु भएको छ ।
जिल्लाका शीर्ष नेतृत्वमध्ये सभापतिमा ५ जना प्रतिस्पर्धामा उत्रिएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा पक्षका मिलनबाबु श्रेष्ठ र संस्थापन इतरका चार जनाले जिल्ला सभापतिमा उम्मेदवारी दिएका छन् ।
संस्थापन इतरमा उत्तम जोशी, राजेश्वर खनाल, डा. सूर्यकान्त घिमिरे र कैलाश कोइराला रहेका छन् । जोशी वर्तमान जिल्ला कार्यसमितिका सचिव हुन् । सभापतिका लागि उम्मेदवारले ५० प्रतिशत भन्दाबढी मत ल्याउन सकेनन् भने दोस्रो चरणको मतदान हुनेछ ।
२ जना उपसभापतिका लागि १५ जनाले उम्मेदवारी दिएका छन् । शालिक शर्मा पौडेल, सुरवीर पोखरेल, उद्धव लोहनी, महेश बानियाँ, हेमलाल भट्टराई, राजेन्द्र डोटेल, रघुनाथ भट्ट, भुवन खनाल, मोहितजंग पाण्डे, निलमणि पाठक, तेजप्रसाद अधिकारी, राजन गौतम, बुद्धिबहादुर गुरुङ, निर्मलकुमार श्रेष्ठ र राजीव न्यौपानेले उम्मेदवारी दिएका छन् ।
२ सचिवका लागि ८ जना र २ सहसचिवका लागि १० जनाले उम्मेदारी परेको छ । ४१ कार्यसमिति सदस्यका लागि १२२ जनाले उम्मेदवारी दिएका छन् । महासमिति सदस्यतर्फ ३२ पदमा ३६ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन समितिका संयोजक अधिवक्ता ज्ञानेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।
कार्यसमिति सदस्यमा प्रत्यक्ष पालिकातर्फ महिला सदस्यमा माडीकी शुक्रमिया महतो र समानुपातिकतर्फ आदिवासी जनजाति महिला सदस्यमा मिनाकुमारी गुरुङ, राममाया गुरुङ र राममाया पिया र थारु खुलातर्फ विश्राम महतो निर्विरोध निर्वाचित भएका अधिकारीले बताएका छन् ।