काठमाडौं । सत्ता गठबन्धनको बैठक सकिएको छ । बिहीबार साँझ बालुवाटारमा अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफल गर्न बसेको बैठकले भोलि पनि संसदमा एमसीसी टेबल नहुने निर्णय गरेको बैठकमा उपस्थित एक नेताले बताए।
एमसीसी भोलि पनि टेबल नगर्ने सहमति भएको छ’, ती नेताले भने,‘हामीले अझै छलफल गरौं, अध्ययन गरौं, बाटो खोजौं। गठबन्धन भरसक नटुटाऊँ भन्ने छ।’ यस्तै छलफलका लागि बैठक भोलि बिहान १० बजे पनि बस्नेछ।
एमसीसी पास गर्न खोजे सत्ता गठबन्धन छोड्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जानकारी गराएपछि पनि प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबारको संसद बैठकमा एमसीसी टेबल गर्ने पक्षमा उभिएका थिए।
बैठकमा नेपाली कांग्रेसबाट प्रधानमन्त्री देउवा, नेताहरू कृष्णप्रसाद सिटौला, गगन थापा, पूर्णबहादुर खड्का, कानुन मन्त्री दिलेन्द्रप्रसाद बडु, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनाल, जनता समाजवादी पार्टीबाट बाबुराम भट्टराई सहभागी थिए।