काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिका–४ स्थित जंगलमा पुरुषको टाउको र खुट्टा भेटिएको ठाउँ नजिकै अर्को झोलामा शरीर पनि भेटिएको छ । बुधबार जेब्रा झोलामा पुरुषको टाउको र खुट्टा भेटिएको स्थान नजिकै बिहीबार बिहान अर्को झोलामा शरीर पनि भेटिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापा भन्छन्, ‘बुधवार जेब्रा झोलामा टाउको र खुट्टा भेटिएको ठाउँ नजिकै शंकास्पद झोला भेटिए र उकत झोलामा मानिसको शरीरको केही भाग जस्तो देखिएपछि जाँचका लागि फरेन्सिक टोली खटाइको छ ।’
धरान उपमहानगरपालिका–४ मा पर्ने धरान–भेडेटार रोडको जंगलभित्र बुधबार दाउरा खोज्न गएका स्थानीयले जेब्रा झोलामा मान्छेको खुट्टा र टाउको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
अन्दाजी ३०–३५ वर्षको जस्तो देखिने पुरुषको टाउको र खुट्टा भेटिए पनि उनको अझैंसम्म पहिचान नभएको प्रहरी उपरीक्षक थापाले बताए । उनले थपे, ‘अहिले सडेको अवस्थामा भेटिएको शवको पहिचान गर्ने प्रयास भइरहेको छ ।’