काठमाडौं । अमरिकी एमसीसी विरुद्ध विरोध प्रदर्शन गर्ने लहर देशभर नै चलेको छ । यसैबीच नेकपा लगायत ६ राजनीतिक दल र दुईवटा मोर्चाले अमेरिकाले नेपालमा नाङ्गोरुपमा हस्तक्षेप गरेको भन्दै यहि फागुन ४ गते देशभर विरोध प्रदर्शन गर्दैछन् ।
अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रधानमन्त्री शेरबहादुर देउवा, केपी वली र प्रचण्डलाई एमसीसी छिट्टै पारित गर्न फोनबाट दिएको दबाब र धम्कीपूर्ण भाषा साम्राज्यवादको नाङ्गो हस्तक्षेप भएको निश्कर्ष निकाल्दै विरोध प्रदर्शन गर्न लागेका हुन् ।
साम्राज्यवादी हस्तक्षेपले नेपाली जनताको एमससी विरुद्धको अनवरत सङ्घर्षमा गम्भीर चुनौती थपिएको भन्दै फागुन ४ गते देशभर संयुक्त विरोध प्रदर्शनका साथै सभाहरु र काठमाडौँमा संसद् भवनअगाडि प्रदर्शन गर्ने निर्णय गरेको दलका नेताहरुले विज्ञप्ती जारी गरी घोषणा गरेका छन् ।
नेकपाका महासचिव विप्लव, नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह, नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य, नेपाल कम्युनिस्ट पाटीका अध्यक्ष ऋषि कट्टेल, नेकपा माओवदी केन्द्र समाजवादीका संयोजक कर्णजित बुढाथोकी, राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसी, देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेल र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका आहुतीले संयुक्त विज्ञप्ति जारी गरी अमेरिकी साम्राज्यवादको नाङ्गो हस्तक्षेप, दादागिरी र हेपाइको घोर निन्दा र भत्र्सना गर्नु भएको छ ।
६ दल र दुई मोर्चाले जारी गरेको विज्ञप्तिमा यही फागुन २ गतेको संसदको बैठक फागुन ४ गते सारेर पारित गराउने षड्यन्त्र गरेको उल्लेख छ ।
संसद बैठकबाट ४ गते एमसीसी पारित गराउने देउवा सरकारको षड्यन्त्रलाई चकनाचुर पार्न घोषणा गरिएको आन्दोलनका कार्यक्रम सफल पार्न पनि विज्ञप्ति मार्फत् सबैमा आह्वान गरिएको छ ।
