काठमाडौं । आजदेखि बिनायात्रु जनकपुर–जयनगर रेल चलेको छ ।
कुर्था–जयनगर रेल सेवा ड्राई रन अर्थात् यात्रुबिना दैनिक एक पटक नियमित रूपमा सञ्चालन गरिने गरी आजदेखि नियमित रूपमा चल्न थालेको हो ।
नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाका अनुसार उद्घाटन नहुन्जेलसम्म खाली रेल सञ्चालन हुनेछ ।
उनले फागुन १० गतेभित्र उद्घाटनको तयारी गरेको पनि जनाए । नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा रेलको उद्घाटन गर्ने अहिलेसम्मको कुरा छ । यद्यपि, उद्घाटनको मिति तय हुन बाँकी रहेको पनि उनले स्पष्ट पारे ।
भारतीय सरकारको रेल्वे कम्पनी केआरसीएलका डीजीएम इनायत हुसेनको नेतृत्वको टोलीमा रहेका रेल चालक देवनारायण राय धनुषाको ईनवाबाट रेल गुडाएर कुर्थासम्म ल्याएका थिए । साढे ९ बजेदेखि ईनवाबाट गुडेको रेल करिव साढे ११ बजे जनकपुरको हल्टमा पुगेको थियो ।
रेल्वे ट्रयाक नयाँ भएको र सर्वसाधारणमा अझै जनचेतना नभएर कुनै पनि वेला ट्रयाकमा आउने सक्ने भएकाले विस्तारै आएको उनले बताए । रेल नियमित रूपमा सञ्चालन भएको खण्डमा एक घटनाभन्दा कम समयमा कुर्था–जयनगरसम्म पुग्न सक्ने पनि चालक रायले बताए ।
कुर्था–जयनगरसम्म बनाईएको ट्रयाकमा बढीमा प्रतिघण्टा ११० किलो मिटरको गतिमा रेल कुदाउन सक्ने बताउँदै चालक रायले भने, ‘यो रेलको इन्जिन प्रतिघण्टा १४० किलो मिटरको स्पीडमा चल्ने क्षमताको छ । तर ट्रयाकको त्यो क्षमता छैन । फेरि नजिकै नजिकै हल्ट र स्टेशन भएकाले पनि सीमित गतिमा रेल चलाउन चालकलाई बाध्यातमक अवस्था हुन्छ ।’
नेपाल र भारत दुवै देशका प्रधानमन्त्रीले उद्घाटन गरेपछि मात्रै दैनिक तीन पटक यात्रुसहित संचालन हुने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताए । फागुन १० गतेभित्र उद्घाटन हुने सम्भावना रहेको पनि झाले बताएका छन् ।