तुलसीपुरमा माघको दोस्रो अन्तिम रातमा आगलागीको ठूलो दुर्घटना हुन गयाो । यसले पाँच जनाको ज्यान लिनुका साथै करोडौंको नोक्सानी पुर्यायो । यस्तो अकल्पनीय दुर्घटना लापर्वाहीका कारण निम्तिएको थियो । विजुली सट भएर उक्त आगलागी हुन गएको थियो ।
यो आगलागीले जाडोमा आफ्नै ओछ्यानमा रातको २.० बजे सुतिरहेका १२ वर्षका हसन बकस र १५ वर्षका मसिन बकस आफ्नै आमाका आँखा अगाडि हेर्दाहेर्दै दन्किएको आगोको ज्वालामा हराए । उनीहरु लगायत अन्य तीनजनाको पनि यस्तै अवस्था हुन गयो ।
यो आगलागी तुलसीपुरको ‘ङ’ लाइनमा रहेको इरम फुटवेर तथा जुत्ता चप्पलको गोदाम घरमा भएको थियो । कहालीलाग्दो यो आगलागीको घटनाले धेरैलाई स्तब्ध बनायो । आगो निभाउनका लागि त्यहाँ पुगेका दमकल, नेपाली सेना, सशस्त्र तथा प्रहरी र स्थानीय जनताको पनि केही लागेन ।
आगो नियन्त्रणमा आउन नसकेपछि दमकलले प्रभावकारी काम गर्न नसकेको गुनासो आयो । यो गुनासो सहायक मात्र थियो । मुख्य कुरा त विद्युत सट हुने कमजोरी जुत्ता पसल र गोदाम कोठाहरुमा थियो । यसको मर्मत समयमै गर्न सकिएन । ध्यान दिइएन ।
बजारका साँगुरा गल्लीहरुले पनि आगो नियन्त्रणमा केही समस्या खडा गरे । आगो नियन्त्रणमा लिनका लागि वरपरका भौतिक वातावरणले साथ नदिँदा पनि यस्तो हालत आँखाले हेर्दै र बेहोर्दै गर्नुपर्यो । उता आगो निरन्तर बलिरह्याो ।
तुलसीपुरवासीले बजार सटडाउन गरेर शोक त मनाएका थिए, तर यसबाट पाठ सिक्नु पनि जरुरी हुन गएको छ । मानवीय समवेदना अभिव्यक्त गर्नु हामी मानवको कर्तव्य हो, तर त्यसबाट पाठ सिकेर गल्ती नदोहर्याउनु सबैभन्दा ठूलो कुरा हो ।
नेपालीहरुको एउटा बानी छ– चल्छ, र चलिरहेकै छ भन्ने । यसैले पनि नेपालीहरुलाई हुन सक्ने संभावित क्षति र दर्घटनाप्रति कमै सजग रहेको देखिन्छ । कुनै पनि कामको थाली निकै उत्साहका साथ गर्ने तर त्यसको निरन्तरता र गतिमा उति जाँगर नदेखाउने जहाँ पनि देखिन्छ ।
नेपालीहरु आफूले कमाएका साधनहरुको नियमित मर्मत गर्दैनन् । तुलसीपुरमा पनि बिग्रिएका यस्ता विजुलीका तार, प्लग र मल्टी प्लगहरुले आगलागी हुने गराएका छन् । विजुलीका तारहरु कहाँ काटिएका छन्, त्यो पनि हेरिदैन । प्लगहरु वर्षौंसम्म रहेर खिया लागिसकेका हुन्छन्, मर्मत नै गरिदैन ।
नेपालीको बानी त कतिसम्म छ भने काठमाडौंका खाल्डाखुल्डी दुईवर्षसम्म पनि पुरिएका छैनन् । यसले काठमाडौंमै धेरै दुर्घटनाहरु निम्त्याइसकेको छ । जनतादेखि सरकारसम्मका काम यस्तै लापर्वाहीपूर्ण छन् । यस्ता कामले सधै अगति र समस्यामा धकेलिरहेका छन् ।
तुलसीपुरको विजुली सट भएर भएको आगलागी र त्यसबाट हुन गएको जनधनको अपूरणीय क्षति पनि यसैको परिणति हो । यसमा नेपालीहरुमा भएको सोच, काम गराइको शैली, सम्बन्धित सरकारी अनुगमनको अप्रभावकारिता र सचेतताको कमी हो । यसले अप्रत्याशित क्षति र घाटामा पुर्याइरहेको छ ।
सरकारको पनि यो मामलामा निकै कमजोरी रहेको छ । सरकारी कार्यालयहरुले कर बुझाउन मात्र बढी ध्यान दिएको देखिन्छ । घर संख्या गणना र घर कर, जग्गाजमिनको तिरो, आयस्रोतको आँकडा ल्याउन मात्र तल्लिन रहेको देखिन्छ । सरकारका तर्फबाट प्रदान गरिने सेवासुविधा र सुरक्षाका कुरामा निरन्तरता र प्रवर्द्धनमा ध्यान दिएको देखिदैन ।
तुलसीपुरको आगलागीमा दमकललगायतका सामग्री समयमै उपलब्ध नहुनु र आइसकेपछि पनि तिनले काम गर्न नसक्नु सरकारको लापरवाही र कमजोरी हो ।