• बैशाख २१ २०८३, सोमबार

मधेश प्रदेशमा फागनु १ गते जनयुद्ध दिवस र सार्वजनिक बिदा

माघ २९ २०७८, शनिबार

काठमाडौं । तत्कालीन विद्रोही नेकपा (माओवादी) ले सशस्त्र विद्रोह सुरू गरेको दिनको सम्झनामा मधेस प्रदेश सरकारले २७ औं जनयुद्ध दिवस मनाउन लागेको छ ।

यता माओवादी नेताहरुले बिर्सदै गएको जनयुद्ध दिवस उता मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले भव्यताका साथ मनाउने र त्यस दिन सार्वजनिक बिदा पनि दिने तयारी गरिरहेका छन् ।

तीन वर्षदेखि माघ ५ लाई बलिदान दिवसका रुपमा मनाउँदै आएको प्रदेश सरकारले यसपाली पहिलो पटक जनयुद्ध दिवस मनाउने भव्य तयारी गरिरहेको छ ।

तर हालसम्म कुनै पनि सरकारी स्तरमा जनयुद्ध दिवस मनाउने गरिएको छैन । माओवादी पार्टीका आफ्नै सरकार बनेका प्रदेश तथा स्थानीय सरकारले पनि जनयुद्ध मनाएको देखिएको छैन ।

संघीय वा केन्द्रीय सरकारको तहमा त जनयुद्ध कहिल्यै पनि मनाइएन । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपालमा गणतन्त्र आउनु र अहिलेका परिवर्तन हुनुमा माओवादी जनयुद्धको ठूलो भूमिका रहेकाले जनयुद्ध दिवस मनाउन लागिएको भनी प्रष्टीकरण दिइरहेका छन् ।

राउतका अनुसार देशमा आएको गणतन्त्र, धर्मनिरपेक्षता, संघीयताजस्ता जे–जति उपलब्धी भएका छन्, ती सबैमा जनआन्दोलन, मधेश आन्दोलन र जनयुद्धको भूमिका छ, यो उपलब्धीलाई बचाउनका लागि पनि जनयुद्ध दिवस मनाउनुमा यसको सार्थकता रहेको छ ।

जनयुद्ध दिवसको अवसरमा प्रदेश सरकारले मधेश भवन परिसरमा रहेको कभर्ड हलमा सहिदको सम्मान तथा आर्थिक सहयोग वितरण कार्यक्रम आयोजना गर्ने भएको छ ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, संघीय सरकारका केही मन्त्री, प्रदेश प्रमुख, मुख्यमन्त्री तथा मन्त्रीहरुलाई आमन्त्रण गरिएको छ ।

कार्यक्रममा मधेशी सहिद प्रतिष्ठानमार्फत् जनयुद्धको क्रममा सहिद भएका परिवारलाई ३/३ लाख रुपैयाँ दिने निर्णय गरिएको छ ।