• जेष्ठ ५ २०८३, मंगलवार

मगरहरुको स्थगित भएको महाधिवेशन अब कहिले हुन्छ ?

माघ २६ २०७८, बुधबार

काठमाडौँ । देशका सम्पूर्ण मगरहरुको साझा संगठन नेपाल मगर संघको स्थगित भएको १२औं राष्ट्रिय महाधिवेशन हुने भएको छ । कोरोना भाइरसको नयाँ प्रजाति ओमिक्रोनका कारण देशको बदलिएको परस्थितिमा स्थगित भएको सो महाधिवेशन अब फेरि अवस्था सामान्य भएको ठीक एक महिनाभित्र हुने नेपाल मगर संघ केन्द्रिय समितिले बताएको छ ।

संघीय राजधानीमा अवस्थित संघको केन्द्रिय कार्यालयमा संघको केन्द्रिय समितिले एक पत्रकार भेटघाट आयोजना गरेर स्थगित भएको महाधिवेशन गरिन लागेको बताएको हो । यसअघि लुम्बिनी प्रदेशको दाङ्ग घोराहीमा माघ १९देखि २२ सम्म हुने भनेर घोषणा गरिएको सो १२औं महाधिवेशन देशमा कोरोना भाइरसको नयाँ प्रजाति भित्रिएर सरकारले स्मार्ट लकडाउन गरेसँगै स्थगित हुन गएको संघले बताएको छ ।

जनजातिमध्ये नेपालमा सबैभन्दा बढी जनसंख्या भएको मगर जातिले नेपाल सरकारले कोरोनाको अवस्था सामान्य भएको घोषणा गरेको ठीक एक महिनामा आफ्नो राष्ट्रिय महाधिवेशन हुने भनेर मंगलवार आयोजित पत्रकार भेटघाटमा जानकारी गराएको हो ।

आयोजित पत्रकार भेटघाटमा अध्यक्ष नविन रोकामगरले नेपालमा अझैं पनि प्रदेशहरुको नामाकरण जातिय पहिचानको आधारमा हुनुपर्ने धारणा व्यक्त गरे । देशमा संघीयता आइसके पनि मगरात भूगोललाई तीन प्रदेशमा राखिएकोप्रति आफ्नो संघ असन्तुष्ट रहेको भन्दै अध्यक्ष रोकामगरले हालै मधेसी जनताको बाहुल्य भएको प्रदेशको नाम मधेश राखिएकोप्रति भने खुसी व्यक्त गरे ।

सरकार र सांसदहरुलाई अध्यक्ष रोकामगरले प्रश्न गरे, ‘देशमा मधेश प्रदेश हुन सक्छ भने मगरात प्रदेश किन हुन सक्दैन ?’ आफ्नो जातिय पहिचान सहितको प्रदेश नामाकरण गर्न सफल भएकोमा पत्रकार भेटघाट मार्फत् अध्यक्ष रोकामगरले मधेसी जाति र समुदायलाई बधाइसमेत दिए ।

जब कुनै प्रदेशको नाम मधेश हुन सक्छ भने अब देशका सम्पूर्ण जाति तथा समुदायहरुले मधेशबाट सिक्नुपर्ने धारणा समेत उनले व्यक्त गरे । मगर समुदायले उठाएको मुद्दा र आन्दोलन सामाजिक आन्दोलन भएपनि यसलाई पूरा गर्न देशको राजनीति ठीक हुनुपर्ने कुरामा उनले जोड दिए ।

मगरात प्रदेश प्राप्तिको आन्दोलन निरन्तर जारी रहेको बताउँदै उनले केही व्यक्तिहरु बिक्रि भएर मगरात बिरुद्ध लागेको आरोपसमेत लगाए । पत्रकार भेटघाटमा उपस्थित संवाददाताहरुको प्रश्नहरुको जवाफ दिंदै अध्यक्ष मगरले हालै सम्पन्न भएको भनिएको राष्ट्रिय जनगणना वैज्ञानिक हुन नसकेका कारण जनसंख्याको सहि तथ्य नआएको बताए ।

सम्पन्न गरिएको जनगणनाको विधि र प्रक्रिया सही नभएकाले तथ्य पनि सही नआएको उनको भनाइ थियो । उनले भने, ‘भएको जनगणना वैज्ञानिक छैन, त्यसकारण सही  तथ्यांक आएन ।’ सरकाले आगामी जनजणनामा यस्ता गल्ती सच्याउनु पर्ने उनको जोड थियो ।

महासचिव ज्ञानेन्द्र पुन मगरले सञ्चालन गरेको पत्रकार भेटघाट अध्यक्ष नविन रोका मगरको अध्यक्षतामा सम्पन्न भएको थियो । पत्रकार सम्मेलनमा उपाध्यक्ष गंगा खासुमगर, कोषाध्यक्ष कमला थापामगर, मगर कर्मचारी संगठनका केन्द्रिय अध्यक्ष लिलबहादुर थापामगर, मगर लेखक संघका केन्द्रिय महासचिव श्याम रानामगर, मगर उत्थान समाज गंगबुका अध्यक्ष चन्द्रबहादुर थापामगर, मगर संघका पदाधिकारीहरु राजु रानामगर, बिनिता आलेमगर लगायतको उपस्थिति रहेको थियो ।

पत्रकार भेटघाटमा अध्यक्ष रोकामगरले पत्रकारहरुको जिज्ञासाको जवाफ दिएका थिए भने महासचिव पुन मगरले समितिको प्रेस विज्ञप्ति वाचन गरेर सुनाएका थिए ।

मगर संघको प्रेस विज्ञप्ति ⇓