• बैशाख २८ २०८३, सोमबार

संखुवासभा सामूहिक हत्या प्रकरण : पक्राउ परेका थप चारजना सार्वजनिक

आश्विन ४ २०७८, सोमबार

सङ्खुवासभा । सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा भएको सामूहिक हत्याकाण्डको अनुसन्धानको क्रममा नियन्त्रणमा लिएका चार जनालाई प्रहरीले सार्वजनिक गरेको छ । एकै परिवारका छ जनाको हत्यामा संलग्न भएकाे आराेपमा लोकबहादुर कार्कीकै परिवारका चार जनालाई प्रहरीले पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेहरुमा हत्यामा संलग्न लोकबहादुर कार्कीको बुवा रणबहादुर, भाई नरेश, काका खड्गबहादुर, र भाई हस्त कार्की (खड्गबहादुरका छोरा) लाई प्रहरीले सार्वजनिक गरेको हो । पक्राउ परेकाहरु घटनामा आफै संलग्न भएकाे पाइएकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।
पछिल्लो पटक पक्राउ परेका चार जनालाई कर्तब्य ज्यान कसुर अन्तर्गत कारवाहीको प्रक्रिया अघि बढाईएको सङ्खुवासभा जिल्ला प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले बताए ।
कार्की परिवारको हत्या आरोपमा नातामा भतिजो पर्ने छिमेकी लोकबहादुर कार्कीलाई गत भदौ २७ गते आइतबार प्रहरीले पक्राउ गरेको थियो । त्यसको तीन दिनपछि लोकबहादुरको भाइ नरेशलाई समेत प्रहरीले पक्राउ गरेको थियो । नरेशको बयानको आधारमा अन्य चार जनालाई गत शनिबार प्रहरीले पक्राउ गरेको हो ।

गत भदौ २१ गते सोमबार बिहान वर्ष ५८ को तेजबहादुर कार्की, उनकी आमा वर्ष ८४ की पार्वता, श्रीमती ५४ की कमला, वर्ष २८ की बुहारी रञ्जना, वर्ष ११ का नाति दिपेन र वर्ष ५ का नातिनी गोमा कार्कीको हत्या गरिएको थियो । मृत्तक बुहारी रञ्जनाको मोबाइल लोकबहादुरको भाई नरेशको साथमा भेटिएपछि उनी माथि अनुसन्धान सुरु गरिएको थियो ।