काठमाडौँ। । सङ्खुवासभाको मादी नगरपालिकामा भएको हत्या काण्डमा संलग्न भएको आरोपमा प्रहरीले थप चार जना माथि अनुसन्धान सुरु गरेको छ । एकै परिवारका छ जनाको हत्यामा संलग्न छिमेकी लोकबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरिसकेको छ ।
लोकबहादुरका भाइ नरेशलाई समेत प्रहरी नियन्त्रणमा लिईसकेको छ । हत्यामा संलग्न लोकबहादुर र उनका भाइ नरेश बाहेक अन्य चार जना माथि प्रहरीले अनुसन्धान थालेको हो । हत्या गरिएको रञ्जनाको मोबाईल लोक बहादुरको भाई नरेशको साथमा भेटिएपछि उनी माथि अनुसन्धान सुरु गरिएको थियो । नरेशको बयानको आधारमा अन्य चारजना माथि प्रहरीले अध्ययन सुरु गरेको हो । अनुसन्धान कै क्रममा रहेको भन्दै चार जनाको परिचय प्रहरीले खुलाएको छैन । उनीहरु घटनाको प्रत्यक्षदर्शी भएको प्रहरीको आशंका छ ।
घटनाको सातौं दिन अभियुक्त लोकबहादुर कार्कीलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको थियो । घटनाको अनुसन्धानका लागि संघीय इकाई प्रहरी कार्यालय धरानका एसपी भीम दाहाल, प्रदेश १ प्रहरी प्रमुख डिआईजी अरुणकुमार बीसी, केन्द्रीय अनुसन्धान ब्युरो डीएसपी रुगमबहादुर कुँवर, सङ्खुवासभा प्रहरी प्रमुख डिएस्पी लालध्वज सुवेदी नेतृत्वको टोलीले अनुसन्धान गरेको थियो । घटनामा संलग्न लोकबहादुरलाई सार्वजनिक गरिएपछि स्थलगत अनुसन्धानको जिम्मा जिल्लालाई छोडेर फर्किएका थिए । अहिले थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडासहितको टोली घटना स्थलमै खटिएका छन् ।
भदौ २१ गते सोमबार बिहान खोला गाउँका तेजबहादुर कार्कीको परिबारका छ जनाको हत्या भएको थियो । घरमा रहेका सात जनामध्ये ८५ वर्षीय बौद्धमान कार्की भने सकुशल भेटिएका थिए । घटनामा बौद्धमानका छोरा ५८ वर्षीया तेजबहादुर कार्की, उनकी श्रीमती ८० वर्षीया पार्वती कार्की, बुहारी ५६ वर्षीया मनमाया ९कमला० कार्की, नातिनी बुहारी २८ वर्षीया रञ्जना कार्की, पनाती १० वर्षीय दिपेन कार्की र पनातिनी ५ वर्षीया गोमा कार्की मृत अवस्थामा भेटिएका थिए ।