काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मन्त्रालयका तीन जना सचिवहरुले एकीकृत कार्यप्रणाली मार्फत जिम्मेवारी सम्पादन गर्न निर्देशन दिएका छन् ।
मन्त्री शर्माले राजश्व सचिव कृष्णहरी पुष्कर कर्ण र महालेखा नियन्त्रकको जिम्मेवारी पाएका सचिव सुमनराज अर्याललाई स्वागत गर्दै यस्तो निर्देशन दिएका हुन् ।
उनले वित्त उपार्जनलाई समुचित वितरण र अनुगमनको जिम्मेवारीमा रहेका सचिवहरूबाट आ–आफ्नो विशिष्टता अनुसारको परिणाममुखी भूमिका निर्वाह हुने विश्वास व्यक्त गरे ।
शर्माले यसअघि नै राजश्व वृद्धि, भन्सार, सार्वजनिक संस्थान, अनुगमन, अध्ययन अनुसन्धान लगायतको विषयका योजनाहरु यथाशक्य चाँडो पेश गर्न समेत निर्देशन दिए ।
अर्थमा दुई जना सचिवले कार्यभार सम्हालेसँगै मन्त्रालयको उच्च पदस्थ अधिकारीहरुको नयाँ टिमले पूर्णता समेत भएको छ । यसैगरी, अर्थसचिव मधुकुमार मरासिनीले अर्थतन्त्रका सूचकहरुमा सकारात्मक परिणाम दिन सके मात्र आफूहरुले काम गरेको ठहर्ने भएकोले सोही अनुसार खटिनुपर्नेमा जोड दिए ।
उनले राजश्व वृद्धि, पुँजीगत खर्च क्षमताको वृद्धि र वित्तीय अनुशासन कायम गर्ने विषयमा सकारात्मक परिणाम दिनैपर्ने आवश्यकता औंल्याउँदै सचिव मरासिनीले संविधानको भावना र वर्तमान सरकारको भिजन अनुसार समाजवादी अर्थतन्त्र निर्माणको जग बसाल्ने जिम्मेवारी आफूहरूमा रहेको बताए ।
स्वागत कार्यक्रममा नवनियुक्त राजश्व सचिव कृष्णहरि पुष्कर कर्णले व्यूरोक्रेसीमा अनुभवी व्यक्ति धेरै रहेको तर ‘पर्फमर’ कम देखिएको स्वीकार गर्दै देशभर रहेका अन्य सरकारी कार्यालयहरुले समेत स्वामित्व महसुस गर्ने गरी काम गर्ने गर्ने प्रतिवद्धता व्यक्त गरे ।
उनले करदातामैत्री सेवा प्रवाहमा जोड दिनुका साथै राजश्व तथा भन्सार प्रशासनमा ‘इम्पोर्टेड ट्रेन्ड’ भन्दा ‘होम ग्रोन ट्रेन्ड’ का आधारमा काम गरिने बताए ।