तनहुँ । तनहुँको दमौलीमा नेपाल आदिवासी जनजाती महासंघ जिल्ला कार्य समिति तनहुँको आयोजनामा शनिबार रक्तदान कार्यक्रम भएको छ ।
२७ औं विश्व आदिवासि जनजाति दिवसका अवसरमा उक्त कार्यक्रम गरिए महासंघ तनहुँले जनाएको छ ।
रक्तदान कार्यक्रममा २६ जनाले रक्तदान गरेको आदिवासि जनजाति महासंघ तनहुँकी अध्यक्ष बसुन्धरा घर्तीले जानकारी दिइन ।
कार्यक्रमका प्रमुख अतिथि व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले रक्तदान जिवनदान भएको बताए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सागर आचार्यले कोभिड त्रास झनै बढेको हुँदा सतर्क रहन आग्रह गरे ।
सोहि कार्यक्रममा कुसुण्डा जातका ईन्द्रमाया कुसुन्डा र छोरी सीमान्त कुसुन्डा कुसुण्डालाई स्टेसनरी सामान तथा खाद्यान्न राहत स्वरूप वितरण गरिएको सचिव नन्दु थापाले जानकारी दिए ।
त्यस्तै रोटरि क्लवका अध्यक्ष दिनेश कुमार श्रेष्ठले नगद सहित २ थान पानस जनजाति महासंघलाई सहयोग गरेका छन ।
गत सालमा सांस्कृतिक कार्यक्रम , मेला , महोत्सव गरेर दिवस मनाउने गरिएको भए पनि यसपटक कोरोना कहर र रगतको अभाव भएको भन्ने धेरै जनगुनासो सुनेपछि रक्तदान कार्यक्रम आयोजना गरिएको अध्यक्ष घर्तीले बताइन् ।
अध्यक्ष बसुन्धरा घर्तीको अध्यक्षतामा भएको रक्तदान कार्यक्रमको सचिव नन्दु थापाले सञ्चालन गरेका थिए ।