• बैशाख २७ २०८३, आईतवार

बालाजु औद्योगिक क्षेत्रमा आगलागी, उत्पादित सामान सबै जलेर नष्ट

श्रावण २३ २०७८, शनिबार

काठमाडौं । नयाँ ढंगबाट अघि बढ्ने प्रयासमा लागिरहेको बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेबिको प्रालिमा लागेको आगो निरन्तर १० घण्टाको प्रयापछि नियन्त्रणमा आएको छ । बिहान २.०० बजेदेखि लागेको आगो नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र बारुणयन्त्रका कर्मचारीको अथक प्रयासपछि नियन्त्रणमा आएको हो ।

नेपाली सेनाका अनुसार आगलागी पूर्ण नियन्त्रणमा लिन सिम्रिक एयरको हेलिकोप्टर पनि प्रयोगमा ल्याइएको थियो । नेपालको पहिलो बिस्कुट कम्पनी नेबिको प्रालिमा बिहानपख एक्कासी आगलागी हुन जाँदा उत्पादित सबै सामग्री जलेर नष्ट भएको छ ।

आगलागी नियन्त्रमा काठमाडौं तथा ललितपुर महानगरपालिकाका दमकलहरु प्रयोगमा ल्याइएको थियो । आगो नियन्त्रणका लागि पानी टयांकीहरु प्रयोग गरिएका थिए ।

नेबिको प्रालिले उद्योगलाई नयाँ किसिमले सञ्चालन गर्न नयाँ प्लान्ट जडान गर्न सुरु गरिसकेको थियो । सुरुमा एक अर्ब बराबरको लगानीमा सञ्चालनमा ल्याइएको उक्त प्रालिले बजार प्रतिस्पर्धाका आधारमा थप गुणस्तरीयता कायम गर्न यी कामहरु अघि बढाएको थियो ।

आगलागीमा मानवीय क्षति नभए पनि उत्पादित सामान सबै जलेर नष्ट भएको छ । नयाँ प्लान्ट जडान नगर्दाका बखतमा पनि उक्त प्रालीले वार्षिक एक अर्ब १५ करोड बराबरको उत्पादित सामान बजारमा बिक्रिका लागि पठाउँदै आएको थियो ।