• मंसिर २० २०८१, बिहीबार

सत्ता साझेदार पार्टीहरुले हैसियत बिर्सेपछि

श्रावण १४ २०७८, बिहीबार

प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार घोषणा गरिए पनि मन्त्रीमण्डल विस्तारमा सहजता आउन सकेको छैन । हरेक पार्टीका आआफ्ना पार्टी अन्तरविरोधहरु सरकार निर्माणमा छताछुल्ल हुँदै गएका छन् । कुनै पनि पार्टी यो रोगबाट मुक्त छैनन् ।

नयाँ सरकार निर्माणपछि केही भिन्न काम गर्ला भनी गरिएको सामान्य अपेक्षा र आकर्षणमा पनि यसले छायाँ पार्ने गरिरहेको छ । फलतः सरकारप्रतिको चासो र आकर्षणका ठाउँमा सुरुमै विकर्षण आउन थालेको छ । गठबन्धन भित्रको समस्याले प्रम देउवालाई अकर्मण्यतातिर डोर्याउन बल गरिरहेको छ ।

सरकारले गर्ने भनी गरेको बाचा र सार्वजनिक गरेको एजेण्डा ओइलाउँदै जान थालेका छन् । जाहेर गरेको प्रतिवद्धताप्रतिको जनआकर्षणमा पनि कमी आउँदै गएको छ । सरकार देश र जनताको पक्षमा काम गर्ने कार्यकारी निकाय हो । यसको बोध भएको महसुस हुन सकेको छैन ।

अघिल्लो सरकार ढलाउन निर्माण भएको तात्कालीन प्रतिपक्षी गठबन्धनमा अहिले सत्ता तानातानको अवस्था सिर्जना हुन गएको छ । हरेक पार्टीमा बढ्दै गरेका असन्तुष्टि र हानथाप मन्त्रिमण्डल बिस्तारमा देखिन थालेको छ । तर पनि यसको समाधानका लागि सरकारमा साझेदार रहेका दलहरु गम्भीर छैनन् ।

यसको समाधानका लागि सामूहिक पहल, वार्ता र निकास निकाल्न सकिरहेका छैनन् । अघिल्लो सरकारले बेहोरेको कचिंगल अर्को रुपमा यसले पनि बेहोर्ने निस्चित देखिएको छ । सबैले आआफ्नै हैसियत थाह नपाएका होइनन् । तर पनि बार्गेनिङको हुरी चलिरहेकै छ ।