• मंसिर २० २०८१, बिहीबार

जनताको लागि राज्य भएको आभाषमा कमि नहोस्

असार २३ २०७८, बुधबार

असारमा मात्रै २ चोटी गरिएको पेट्रोलियम पदार्थको मूल्यवृद्धिले उपभोक्ताहरु मारमा परेका छन् । कोरोनाको चपेटामा परेका जनता असारमै बाढीको मारमा परे । साउनको भेल व्यहोर्न त बाँकी नै छ । प्राकृतिक र जैविक आक्रमणपछि राज्यले व्यापार र सुविधाका लागि गर्ने मूल्यवृद्धि जस्ता कामले जनतालाई मारमा मार थपेकै छ । पेट्रोलियमको मूल्य बढ्नुमा नेपाल सरकारको हात हुन्छ की व्यापारी ? कुरो सरल छ ।

सरकारी व्यापारमा आवद्ध संस्थाहरुले नै मूल्य बढाउने वा घटाउने हुन् । हाल नेपालमा पेट्रोलियमको उत्पादन नभइरहेको अवस्थामा विदेशबाट ल्याउने पर्ने बाध्यताका कारण अन्तराष्ट्रिय बजारमा यसको मूल्य बढ्दा नेपालमा पनि बढ्नु स्वभाविकै मानिन्छ तर अन्यत्र नबढ्दा नेपालमा मत्रै किन धेरै र छिटोछिटो यसको मूल्य बढ्छ ? यो प्रश्नको जवाफ हालसम्म पाइएको छैन । सरकारले व्यापार घाटा पूर्ती गर्नका लागि यसरी मूल्य बढाउने गर्छ भन्ने सोझो जवाफ नै आजसम्म पाइएको जवाफ हो ।

बाढीपहिरोका कारण थला परिरहेका जनतालाई केही सुविधा दिनेतिर राज्यले सोच्न नभ्याएको हो की, यसबारेमा कुनै योजना नै नभएको हो बुझ्नै सकिएन । कोरोना कम भएसँगै भारततिर फर्कने नेपालीको लर्को हेर्नलायक नै छ । यता कोरोना खोप लगाउनका लागि पहुँच हुनेहरुको लर्को पनि मानिसहरु मजा मानिरहेका छन् । किन की काम गर्ने मजदूरले खोप पाएको छैन तर शहरमा घरबार बनाएर ठाँटसित बसेकाहरु र ठाउँमा आफ्नो मान्छे भएकाहरुले सानका साथ खोप लगाएर फर्किएको देख्न खोप केन्द्रमा गए पुग्छ । यी र यस्ता कुरा लेखेर आफैलाई झर्को लाग्ने काम नगरौं । बरु कनि यस्तो भइरहेको छ ? भनेर प्रश्न गर्ने र समाधान दिनका लागि मनस्थिति बनाउने की !

सुझावहरु पनि धेरै दिइए । रचनात्मक सुझाव ग्रहण भएको भए सायद नेपाल सबै हिसावले निकै नै अघि बढिसकेको हुने थियो । तर दिइएका सुझाव र रचनात्मक आलोचना ग्रहण गर्ने मानसिक क्षमता नेपालका शासक प्रशासकहरुमा निकै नै कम देखिन्छ । उनीहरु विदेश भ्रमणपनि गइरहन्छन् । विदेशी सूचनाका स्रोत पनि प्रसस्तै हुन्छन् । तर पनि नेपाली शासकहरुमा त्यसलाई ग्रहण गर्ने आफ्नो देशलाई राम्रो बनाउने योजना बनाएको कम मात्रै देखिने गर्दछ । त्यसरी अन्यत्रबाट सिकेर नेपालमा लागु गर्न खोजिएपनि खुट्टा तान्ने प्रवृत्ति हावी छ जसले बनाइएको योजना अलपत्र पार्छ ।

नेपालीको अधोगति हुनुमा सत्तामा रहेका मानिसहरुको चेतनास्तर र बेलाबेला आइपर्ने प्राकृतिक विपत्तिले एकसाथ काम गरिरहेको भान भएको छ । त्यसकारण यी र यस्ता कुराहरुलाई ख्याल गर्ने र विगतबाट पाठ सिकेर वर्तमानमा सही तरिकाले लागु गर्ने मानिसकता भएको नेतृत्वको आवश्यकता देशले महसुस गरेको छ । तर नेपालमा नेतृत्व गर्ने मानिस नभएर देशको हालत यस्तो भएको भने होइन ।

नयाँ कामको परिकल्पना भएका नेता नभएर वा कम भएर वा त्यस्तो परिकल्पना भएको मानिसले देशको सेवा गर्ने मौका नपाएर यस्तो भएको हो भन्नेमा धेरै मानिस सहमत हुन्छन् । त्यसकारण जे जस्तो अवस्था भएपनि समस्या पर्दा जनतालाई उद्धार गर्ने, आपतकालीन सेवा दिने र कम्तिमा सरकार छ भन्ने आभाष हुनेगरी केही त गर भन्ने सुझाव साधारण जनताको रहेको छ । यसलाई मनन् गर्नेमा सरकारी सेवा लिएकाहरुमा चेत पलाउला ?