काठमाडौँ /
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधी सभा विघटन गरिदिएपछि संसदीय प्रकृयाबाट बाहिर रहेको शक्ति विद्रोही नेपाल कम्युनिष्ट पार्टीले पनि आफ्नो प्रतिकृया दिएको छ। सो पार्टीका महासचिव विप्लवले आज एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै संसद विघटनबारे आफ्नो पार्टीको धारणा सार्वजनिक गरेका हुन्। ‘संसद विघटन र मध्यावधि चुनावको बिषय राष्ट्रिय महत्वको विषय भएकोले आफ्नो पार्टीको धारणा सार्वजनिक गर्न चाहन्छौं’, भन्दै आफ्नो प्रेस विज्ञप्तिमा विप्लवले संसदीय व्यवस्था र नेपाली जनताको आवश्यकता र चाहनाले मेल खाँदैन र यो सफल हुँदैन भन्ने आफ्नो पार्टीको निष्कर्ष सावित भएको बताएका छन्।
शान्ति, स्थिरता र समृद्धिको नारामा जनताबाट लगभग दुईतिहाई मत सहित बनेको नेकपा र केपी शर्मा ओलीको सरकार चल्न नसक्नु, असफल भएर मध्यावधि चुनावमा जानुपर्ने बाध्यता आउनु यो कुनै व्यक्ति पार्टी र सरकारको मात्र असफलता वा समस्या नभएर संसदीय व्यवस्थाकै समस्या भएको महासचिव विप्लवको विज्ञप्तिको ठहर छ। उनले भनेका छन्, ‘ यो व्यवस्थाको संकटलाई सरकारको मात्र असफलता बताएर फेरीपनि संसदीय व्यवस्थाकै चुनाव गर्नु भनेको समस्या समाधान गर्ने नभई देशलाई झन् ठूलो अन्तरविरोध र संकटमा धकेल्ने चाल मात्र हुनेछ।’
यो व्यवस्थाको संकटको निकास भनेको निर्विकल्प रुपले वैज्ञानिक समाजवाद हुनसक्छ भन्दै विज्ञप्तिमा भनिएको छ, ‘ दलाल पूँजीवादी सत्ता र संसदीय व्यवस्थाको संकटको निकास निर्विकल्प रुपले वैज्ञानिक समाजवाद मात्र हुनसक्छ भन्ने हाम्रो विचार सही सावित भएको छ।’ राज्यको संकटलाई सही निकास दिन अब संसदीय चुनाव होइन कि ‘वैज्ञानिक समाजवाद वा दलाल पूँजीवाद रोज्ने’ अधिकार जनतालाई दिनुपर्छ भन्दै सो रोज्ने अधिकारको लागि जनमत संग्रह गर्नुपर्ने सो पार्टीको जिकिर छ।
जनमत संग्रहका लागि राजनैतिक पार्टीहरु तयार हुने हो भने आफ्नो पार्टी संयुक्त सरकार बनाएर निकासका लागि सहकार्य गर्न तयार रहेको विप्लवले विज्ञप्तिमा बताएका छन्। उनले भनेका छन्, ‘जनमत संग्रहका लागि राजनैतिक पार्टीहरु तयार हुने हो भने त्यसका लागि हाम्रो पार्टी संयुक्त सरकार बनाएर निकासका लागि सहकार्य गर्न तयार रहेको स्पष्ट गर्दछौं।’
जनमत संग्रहको निकास कुनै पार्टी विशेषको नभएर देश र जनताका लागि दीर्घ शान्ति, स्थिरता, स्वाधिनता एवम् समृद्धिसँग जोडिएको बिषय भएकाले यसका पक्षमा एकताबद्ध रहेर उत्रिन सबै प्रगतीशील, देशभक्त, बामपन्थी, कम्युनिष्ट, शहीद तथा बेपत्ता योद्धा परिवार, घाइते योद्धा, मजदुर, किसान, महिला, दलित, जनजाति, युवा, विद्यार्थी, शिक्षक, बुद्धिजीवी, वकिल, पत्रकार, तथा पार्टीका नेता कार्यकर्ताहरुलाई महासचिव विप्लवले आव्हान गरेका छन्।
हेरौं महासचिव विप्लवले निकालेको विज्ञप्ति ⇓
