• बैशाख २० २०८३, आईतवार

चलचित्रकर्मी कार्कीको निधनप्रति प्रम ओलीद्वारा दुःख व्यक्त

जेष्ठ २ २०७८, आईतवार

काठमाडौं  । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ संस्कृतिकर्मी, चलचित्रकर्मी एवम् गीतकार चेतन कार्कीको निधनप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले कार्कीको निधनको खबरले आफू दुःखित भएको बताएका छन्।

उनले आइतबार साँझ ट्वीटरमा लेखेका छन्, ‘वरिष्ठ गीतकार तथा चलचित्र निर्देशक चेतन कार्कीको निधनको खबरले मलाई दुःखित तुल्याएको छ। गीतकार कार्कीप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछु।’

लेखक साहित्यकार कार्कीको आइतबार बिहान उपचारको क्रममा छाउनीस्थित सैनिक अस्पतालमा निधन भएको थियो।

८३ वर्षका उनले नेपाली लोक, आधुनिक तथा चलचित्रका गीत संकलन तथा लेखनमा महत्वपूर्ण योगदान गरेका छन्। उनले चलचित्रका संवाद तथा पटकथा लेखनसँगै निर्देशन पनि गरेका थिए । कार्कीले वि.सं. २०२८ मा तत्कालीन शाही नेपाल चलचित्र संस्थान स्थापना भएपछि निर्माण अधिकृतका रुपमा कामसमेत गरेका थिए।