कोरोना महामारी संक्रमणको दोस्रो लहर बढ्दै गएपछि पहिलेको सामान्य तयारीले नपुग्ने देखिएको छ । बैशाख मसान्तसम्म संक्रमणको उच्च जोखिम देखिने भनी सरकारले गरेको प्रक्षेपण अनुसार हालसम्म केही पनि उल्लेख्य तयारी गरिएको देखिदैन । सरकारी निकाय पनि मौन छन्, निजी क्षेत्र पनि क्रियाशील छैनन् । यसले अबका संक्रमणका दिन असहज र जटिल हुन पुग्ने देखिएका छन् ।
यो जटिलताको समाधानका लागि चालिनु पर्ने सामान्य कदमसम्म चलिएका छैनन् । कोरोना संक्रमण व्यवस्थापन समिति केवल विज्ञप्ति जारी गरेर आराम गरिरहेको छ । स्वास्थ्य मन्त्रालयले केही चासो र क्रियाशीलता देखाए पनि एक्लो परेको महसुस हुन थालेको छ । यसले सोचे अनुसारको गति लिन सकिरहेको छैन ।
हालसम्म नेपालमा भित्र्याइएका खोपहरु पनि उचित र संयमित रुपले वितरण गरिएका छैनन् । छिमेकी देशबाट उपहार स्वरुप भित्र्याइएको पहिलो चरणको खोप पनि पूरा मात्रामा जनताका बीचमा पुर्याउन सकिएको छैन । चिनियाँ उपहार खोप पनि आइसकेको छ । तर जनतालाई दिइएको छैन । खोपप्रति जनताको आकर्षण पनि त्यति धेरै देखिएको छैन । यसका लागि आवश्यक प्रचारात्मक वातावरण निर्माण गरी जनतालाई विश्वस्त तुल्याउन जरुरी छ ।
अहिले देशभर अति प्रभावित, मध्यम र कम गरी तीन प्रकारका कोरोना संक्रमित क्षेत्रमा देशलाई फेरि वर्गीकरण गरिएको छ । यसले पोहर साल गरिएको जस्तो संकेत पनि गरेको छ । स्वास्थ्य मन्त्रालयले तीन हप्ताका लागि लकडाउन गर्ने प्रस्ताव पनि गरेको छ । तर यो सीसीएम्सीले पास गरी मन्त्री मण्डलमार्फत् स्वीकृत हुन्छ कि हुँदैन, हेर्न बाँकी छ । लक डाउन गरिएमा देशको आर्थिक गतिविधि ठप्प हुने र पोहरको जस्तो कोरोनाले भन्दा खान नपाएर मर्ने स्थिति सिर्जना हुने पनि देखिन्छ ।
हाल गरिएका विद्यालय बन्द, सार्वजनिक जात्रामा रोक, २५ जनाभन्दा बढीको जमघटमा रोक जस्ता कुरा राम्रा र व्यवहारिक छन् । विद्यालयमा पोहर सालकै जस्तो आनलाइन पढाइ गरिए उत्तम हुने देखिएको छ । यसका लागि केही प्रशासनिक र केही आकर्षक प्रचारात्मक तथा प्रयोगात्मक अभ्यासहरु अघि बढाइनु जरुरी भएको छ । सरकारले प्राथमिकताका आधारमा चालेको कदम आफैमा वैज्ञानिक छ । सबैको मुखमा मास्क र हातमा स्यानिटाइजर हुनु जरुरी छ ।
संक्रमितको संख्या बढ्दै गएकाले क्वारेन्टाइनको पुनः व्यवस्थापन, द्रुततामा परीक्षण, अस्पताल भर्नाको सुविधा, बेड तथा अक्सिजनको आपूर्ति, सघन कक्षहरुको व्यवस्था गरिनु जरुरी हुन गएको छ । यसका लागि सरकारी अस्पताल तथा निजी अस्पतालहरुमा निश्चित मापदण्ड बनाइनु जरुरी छ । सेवाको उच्च मूल्यांकन, अग्र मोर्चामा खट्नेहरुका लागि सेवासुविधा र लगाउने सामग्रीको उचित व्यवस्थापन समयमै गरिनु जरुरी छ । रोग लागेपछि उपचार गर्नु भन्दा रोग लाग्नै नदिनु भन्ने नेपाली उखानलाई व्यवहारतः प्रयोगमा ल्याउनका लागि केवल सतर्कता मात्र होइन, उच्च सतर्कता अपनाउनु जरुरी छ ।