नेपालमा कोरोना महामारीको दोस्रो लहर आएको भनिए पनि त्यो कुन प्रकृतिको हो, सोबारेमा चिकित्सकीय भाषामा बोलिएको छैन । कोरोना नयाँनयाँ स्वरुप लिएर आउने तर त्यसको संक्रमण रोकथामका विधि, प्रक्रिया र बुझाइमा नेपालीको पुरानै रहिरहने हो भने त्यो बढी हानिकारक हुने देखिन्छ । यसको बारेमा चिकित्सक तथा चिकित्सकीय क्षेत्रहरु अघि सर्नुपर्छ ।
पछिल्लो समयमा कोरोनाको बेलायती भ्यारियन्ट वा स्वरुपले विश्वमा त्रास सिर्जना गरिरहँदा ब्राजिलियन भ्यारियन्टले उत्पात मच्चाउँदै आएको छ । यसको संक्रमणको क्षेत्र वा सीमा पनि देशव्यापी हुने गरेको पाइएको छ । ब्राजिलजस्ता देशहरुमा दैनिक सरदर लाखौंको संख्यामा मानिस संक्रमित हुने र हजारौंको संख्यामा मर्ने गर्न थालेपछि अबका दिनमा कोरोनाबाट सुरक्षित हुन सकिदैन कि भन्ने भयले घर गर्न थालेको छ ।
महामारीबाट बच्नका लागि सापेक्षतामा खोपको विकास पनि भैरहने तर नयाँ भ्यारियन्ट पनि देखिइरहने भएपछि पहिलेको खोपको प्रभावकारिताले काम नगर्ने पनि देखिन थालेको छ । नयाँ भ्यारियन्टले पहिलेको संक्रमणको खतराको लेवल पार गरिसकेको हुने र नयाँ खतराका साथ आउने भएकाले पहिले निर्माण र प्रयोग गरिएको खोपको गुणस्तर र प्रभावकारिताले काम नगर्न सक्ने देखिन्छ ।
देशको सन्दर्भमा कोरोनाको भ्यारियन्ट विशिष्ट हुने हुनाले विविध गुणस्तर र प्रभावकारिता रहेका खोपहरु सञ्चालन गरिनु पर्ने अवस्था सिर्जना हुन गएको बोध हुन थालेको छ । यही विशिष्टतामा समग्र र समग्रतामा विशिष्टताको पहिचानसहित सरकारले पनि आफ्नो देशको स्वास्थ्य विशेषज्ञता र विशेषज्ञको अनुसन्धान तथा खोजमा पनि आत्मनिर्भर हुने गरी कदम चाल्नु जरुरी हुन आएको छ । विदेशको भर परेर वा अझ त्यसमा सहयोगको याचना गरेर मात्र देशको जनस्वास्थ्यको हालतमा सुधार आउने देखिदैन ।
यसै कारण पनि नेपाली विशेषज्ञताले धान्छ भने नेपालकै र धान्न सक्दैन भने विदेशबाट विशेषज्ञहरु झिकाएर नेपालमा फैलिइरहेको भ्यारियन्ट कुन हो पत्ता लगाई तदनुरुपको रोकथामको प्रक्रिया अपनाउँदै उपयुक्त खोप दिइनु पर्छ । नेपालले भर्खरै मात्र पहिलो भ्यारियन्टको खोप लगाउँदै छ, जब कि देशमा कोरोना महामारी संक्रमणका विभिन्न साना लहरहरु आएर पनि गैसके ।
बेलायती भ्यारियन्टको चर्चा पनि कम चलेन । अहिले ब्राजिलियन भ्यारियन्टको चर्चा चलिरहेको छ । यस्तो अवस्थामा नेपालमा कुन चाहिं भ्यारियन्ट अस्तित्वमा छ, सोको पहिचान जरुरी छ । र, त्यसै अनुरुपको उपाचार पद्धति अपनाइनु पर्छ ।
त्यसैले आजको साझा आवाज हो– कोरोनाको प्रकारअनुसार उपचारमा लाग सरकार !