हुम्ला । कर्णाली कोरिडोर निर्माण तीव्ररूपमा भइरहेको छ । केही महिनादेखि ब्लाष्टिङ सामग्रीको अभाव भएका कारण राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको कर्णाली कोरिडोरको सडक निर्माणको ट्र्याक खोल्ने कार्य प्रभावित भएको थियो ।
चैतको पहिलो हप्ता नेपाली सेनाको सहयोगमा ब्लाष्टिङ सामग्री सिमिकोट ल्याइसकेपछि धेरै महिनादेखि रोकिएको निर्माण कार्य शुरु भएको सिमिकोट–हिल्सा सडक योजनाका प्रमुख विसुन दास लामाले जनाउनुभयो ।
सिमिकोट–हिल्सा सडक खण्डमा च्याछरा चट्टाने भिर तथा सडकमा रहेका विभिन्न चेनेजमा कडा चट्टानहरु फुटाउने कार्य तीव्र गतिमा भइरहेको छ । दुई महिनाभित्र यस खण्डको ‘ब्रेक थ्रु’ भई सिमिकोटदेखि चीनको नाका हिल्सासम्म ९५ किलोमिटर सडक मार्गबाट सजिलै यात्रा गर्न सकिनेछ ।