• बैशाख १८ २०८३, शुक्रबार

फेरि बढ्यो देशभरि वायु प्रदुषण

चैत्र २३ २०७७, सोमबार

काठमाडौं । देशभरि फेरि वायु प्रदुषण बढेको छ । बिहीबार साँझ परेको वर्षाले केही प्रदुषण घटे पनि आइतबारदेखि फेरि बढेको हो ।

वातावरण विभागको तथ्याङ्कअनुसार सोमबार बिहान सबैभन्दा धेरै वायु प्रदुषण धनगढीमा छ । धनगढी एयर क्वालिटी इन्डेक्स (एक्युआई) ४२९ पुगेको छ । चितवनमा एक्युआई ३९८ छ भने ललितपुरमा एक्युआई ३२५ छ ।

एक्वुआई १५० सम्म पुग्दा संवेदनशील समूहलाई अस्वस्थकर हुन्छ । २०० सम्म पुगे सबैका लागि अस्वस्थ हुन्छ । एक्वुआई ३०० पुग्नु भनेको जोखिमपूर्ण मानिन्छ । ३ सयभन्दा माथि जानु चाहिँ घातक हो ।

तुवाँलोका कारण आँखा पोल्ने र श्वासप्रश्वासमा समेत समस्या जस्ता स्वास्थ्यमा पर्ने नकारात्मक असरबाट बच्न आवश्यक कार्यबाहेक घरबाहिर ननिस्कन र निस्कनु परेमा मास्क लगाउन तथा आवश्यक सतर्कता अपनाउन विभागले सबैमा अुनरोध गरेको छ ।

वायु प्रदुषणले खतराको तह पार गरेपछि गत साता सरकारले तीन दिन देशभरका विद्यालय बन्द गरेको थियो । आइतबारदेखि विद्यालय फेरि खुले पनि प्रदुषण फेरि ह्वात्तै बढेको छ ।

वायु प्रदुषणले गर्दा काठमाडौं उपत्यकामा एक्कासि चिसो बढेको महसुस गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकको न्यूनतम तापक्रम ९.८ डिग्री सेल्सियस छ तर पनि मौसम सुक्खा भएका कारण चिसो बढेको हो ।