• मंसिर २० २०८१, बिहीबार

मेलम्चीको पानीले ल्याउन नसकेको उमंग

चैत्र २१ २०७७, शनिबार

निकै कुराएर मेलम्चीको पानी काठमाडौंमा आइपुग्दा यहाँको जनजीवनमा यसले के कति असर पार्ला भन्ने बहस निम्त्याएको छ । पहिलो कुरा त पानी आयो, निकै राम्रो भयो पनि । काकाकुल काठमाडौंको बस्तीमा मेलम्चीको पानी आइछाड्यो । यसले जीवन ल्यायो, सोच र भावनाका मिश्रित कौतुहलता पनि । तर अपेक्षा गरिएअनुसार यथासमयमै काठमाडौंका बस्तीहरुमा खानेपानीको उचित वितरण नभएकाले यसले खुशी आदानप्रदानको मौका दिएन ।

उद्घाटन भयो, भृकुटी मण्डपको ढुंगेधाराबाट राष्ट्रपतिको हातछुँदै मेलम्चीको पानीले काठमाडौं उपत्यकाको भूमि स्पर्श गर्यो । अबका दिनमा यसले काठमाडौंका डेरावालका रित्ता भाँडाहरु स्पर्श गर्दै ती भाँडा र पेट भराउन सक्नुपर्छ । सरकारको घोषणाअनुसार औपचारिक रूपमा उपत्यकाभित्र मेलम्चीको पानी वितरण सुरु भएको भनिएको छ । यहाँसम्म आउँदा परीक्षण सुरुङ, सुन्दरीजल पानी प्रशोधन केन्द्र र चक्रपथमा बिछ्याइएका थोक वितरण पाइपलाइन ठीकै छन् ।

अब बाँकी रहेको छ टोलटोलमा पानी वितरणका लागि पाइप लाइन निर्माण र निर्मित भैसकेका धारामा पानी वितरण । काठमाडौंमा मेलम्चीको पानी आयो भन्दा स्थानीय जनता जति खुशी छन्, त्योभन्दा खुशी मेलम्चीको पानी खाएर हुने कुरामा आशंका छैन । यसका लागि सरकार निकै गम्भीर हुनु पर्छ । पानी पेय जल मात्र होइन, यो सेवा र सुविधा पनि हो । सेवा र सुविधा भन्ने बित्तिकै दलालहरुका आँखा यिनमा गढिसकेका हुन्छन् । मेलम्चीको पानी काठमाडौंमा आएर दलालहरुको हातमा नपरोस् ।

नेपालमा प्रजातन्त्र पुनस्र्थापनापछि सरकारले फत्ते गरेको राष्ट्रिय गौरवको आयोजनामा मेलम्चीको खाने पानी पनि पर्दछ । तात्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले भोट माग्दा ‘काठमाडौंका सडकहरु मेलम्चीको पानी ल्याएर छलछली पखालिदिनेछु’ भनेको कुराले काठमाडौंवासीलाई निकै आशावादी बनायो । तर मेलम्चीको पानीले त्यसपछिका दिनमा निकै अधैर्यताका साथ पर्खन पनि लगायो । यसले गर्दा मानिसमा पहिलेको जस्तो आशा र स्फूर्तिमा कमी ल्यायो । आज मेलम्चीको पानी काठमाडौं आएर पनि जनतामा अपेक्षित उमंग देख्न सकिएन ।

समय लामो भयो, ‘रात गए, अग्राख पल्हाए ।’ जनताका माग बढ्दै गए । मेलम्चीको पानी काठमाडौंमा आएको आश्चर्य र कौतुहलताको विषय बन्न सकेन । अर्को कुरा, पानी आउन ढिला भएकाले मेलम्ची पानीको उद्घाटन हुँदाका बखत नै भ्यालीभरि वितरण हुने तयारी गरेको भए यसले आम जनताको जीवनलाई छुने र उत्सवको रुप लिने थियो ।

तर दुर्भाग्य पानी जनताका घरघरमा पुग्न सकिरहेको छैन । त्यति नभए पनि सुरुका दिनमा एक टोलमा एउटा धारो नियमित रुपमा खसिराख्न दिए पनि यसले भिन्न प्रचार ल्याउने थियो । त्यतिमात्र होइन, कुन ठाउँमा के कति वितरण हुने हो, सोको जानकारीसमेत स्थानीय जनतालाई छैन । जनतालाई सूचनाको हक र सरकारका लागि कामकार्वाहीको तालिका दुवै उपलब्ध भए स्थानीयको मन केही चंगा हुने थियो ।

विना सूचना आफ्नै योजनामा सरकारले गुपचूप रही काम गर्दा यसले जनताको मौखिक अभिव्यक्तिको सहभागिता पनि जुटाउन सकेन । यो दुखको कुरा हो । सरकारले यसलाई समयमै ख्याल गर्नुपर्छ । काठमाडौं उपत्यकामा भित्र्याइएको पानीको समुचित वितरणमा ध्यान दिनु पर्छ ।