• बैशाख १८ २०८३, शुक्रबार

अबदेखि बायोमेट्रिक हाजिरी नमिले विमानस्थलबाटै फर्काइने

चैत्र १८ २०७७, बुधबार

काठमाडौं । वैदेशिक रोजगारी जाने श्रमिकको अन्तर्राष्ट्रिय विमानस्थलको श्रम कक्षमा लिइने बायोमेट्रिक हाजिरी नमिलेमा विमानस्थलबाटै फर्काइने भएको छ ।
वैदेशिक रोजगार विभागले आज एक सूचना जारी गर्दै आगामी वैशाख १ गतेदेखि लागू हुने जनाएको छ । वैदेशिक रोजगारीमा जाने श्रमिकले विदेश जानुपूर्व अभिमुखीकरण तालीम नलिई प्रमाणपत्र मात्र लिने गरेको वा नक्कली बायोमेट्रिक लिएको अवस्था भए उनीहरु विमानस्थलबाटै फर्कनुपर्ने जनाइएको छ ।

वैदेशिक रोजगार ऐन, २०६४ को दफा (२७) र वैदेशिक रोजगार नियमावली, २०६४ उपनियम (२०) मा वैदेशिक रोजगारीमा जाने श्रमिकले वैदेशिक रोजगारमा जानुपूर्व अभिमुखीकरण तालीम लिनुपर्ने व्यवस्था छ । अभिमुखीकरण तालीम प्रदायक संस्थाले सम्बन्धित व्यक्तिको बायोमेट्रिक हाजिरी गराई हाजिरी विवरण विभागको अनलाइन सूचना व्यवस्थापन प्रणालीमा उपलब्ध गराउनुपर्नेछ ।

पछिल्लो समयमा विभागले गरेको अनूगमनका क्रममा वैदेशिक रोजगारीका लागि अनिवार्य गरिएको अभिमुखीकरण तालिम नलिई प्रमाणपत्र मात्र लिने-दिने गरिएको, तोकिएको समयभित्र तालीम नलिएको तथा अर्कै व्यक्तिको बायोमेट्रिक हाजिरी विवरण रेकर्ड गराई तालीम गराइएको भेटिएको थियो । विमानस्थलको श्रम कक्षबाट वैदेशिक रोजगारीमा जाने श्रमिकको बायोमेट्रिक हाजिरी विवरण व्यक्ति स्वयंको उपस्थितिमा मिलान गराउँदा आधिकारिक नभएको पाइएको थियो ।

नक्कली बायोमेट्रिक प्रयोग गर्दा बीमा तथा कल्याणकारी कोषबाट प्राप्त हुने सुविधाबाट वञ्चित हुनसक्ने, बायोमेट्रिक नमिल्दा विदेशबाट पुनः श्रम स्वीकति प्राप्त गर्न नसक्ने तथा गन्तव्य मुलुकसम्बन्धी जानकारी, वैदेशिक रोजगारसम्बन्धी कानून तथा अन्य आवश्यक कानूनसम्बन्धी जानकारी, सुरक्षित रोजगारी तथा अन्य हकअधिकारका विषयबाट वञ्चित हुने विभागको भनाइ छ । नक्कली बायोमेट्रिकको प्रयोग गरी विदेश जाँदा श्रमिकले असुविधा भोग्नुपर्ने विभागले जनाएको छ ।