काठमाडौं । बालयौन दुराचारको आरोपमा एक विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले उक्त कसूरमा अमेरिकन नागरिक माइकल नर्मन टेलरलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार निकै अघिदेखि खोजीको सूचीमा रहेका उनलाई आज कास्कीको पोखरा महानगरपालिका–१८ स्थित होमस्टेमा बसिरहेका बेला ब्यूरोको टोलीले पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी कार्यालयमा बुझाएको जनाएको छ । ब्यूरोका उपनिर्देशक प्रहरी उपरीक्षक गङ्गा पन्तका अनुसार उनको साथबाट प्रहरीले चार हजार ६०० अमेरीकी डलर, ल्यापटप तथा मोबाइल बरामद गरेको छ ।
माइकलले अमेरिका रहँदादेखि नै बालयौन दुराचार गर्ने मनसायले नेपाली बालबालिकासँग सामाजिक सञ्जालमार्फत नियमित सम्पर्क गर्ने गरेको भन्ने सूचनका आधारमा ब्यूरोले उनलाई खोजी गरिरहेको थियो ।
उनी सन् २०१८, २०१९ र २०२१ गरी तीन पटक नेपाल आएका र सन् २०१९ मा तीन बालबालिकालाई बालयौन दुराचार गरेको भन्दै पीडितबाट जाहेरी दरखास्त परेको थियो ।