पर्वहरुले सामाजिक सद्भाव कायम गर्नु पर्दछ । किनकि पर्वहरु मानिसले बनाएका हुन् । मानिसहरुका लागि बनाइएका हुन् । पृथ्वीको स्थान विशेष अनुसार मानिसहरुको बसोबास रहेको हुन्छ । र सोही अनुसार मानिसले पर्वहरुको निर्माण गरेको हुन्छ । पृथ्वीको एक ठाउँमा निर्माण भएको पर्व अर्को ठाउँका मानिसहरुका लागि फरक र नयाँ लाग्न सक्छ । जुन स्वभाविक हो ।
नेपाल जत्तिको सानो मुलुकमा त सयौंथरी चाड पर्वहरु छन् भने संसारभर छरिएर रहेका मानवजातिले कति धेरै पर्वहरुको सिर्जना गरेका होलान् ? अनुमान मात्र गर्न सकिन्छ । नेपालमा रहेका सयभन्दा बढी जातिहरुका आआफ्नै पर्व र साँस्कृतिक मान्यताहरु रहेका छन् । रहेक स्थानमा हरेक वर्ण र स्वभावका मानिसहरु छन् । ती फरक फरक पहिचान भएका मानिसहरुका परिचयका आधारकारुपमा रहेका चाड र पर्वहरु पनि फरकफरक हुनुलाई अन्यथा लिन मिल्दैन । तिहार, दशैं, होली, माघी, ल्होसार जस्ता पर्वहरुले मानिसहरुका बीचमा आपसी सद्भाव कायम गरिरहेका छन् । तर मानिसले आफ्नो सम्मान र सद्भावका लागि बनाएका यी पर्वहरुले समाजमा बेमेल कायम गर्नुहुँदैन ।
सूचना र प्रविधिको उच्च विकासमा दौडिरहेको यो युगमा संसार नै गाउँभन्दा सानो बनेको छ । आज भोली गाउँघरको खबर भन्दा संसारभरको खबर छिटो पाउन सकिन्छ । यस्तो अवस्थामा रहेको संसारको समाजलाई समृद्ध गर्न चाडपर्वहरुले पनि थप टेवा पुर्याउनु पर्दछ । रंगहरुको पर्व होलीले पनि नेपाली समाजलाई एकताको एउटै सुत्रमा बाँध्ने काम गर्नुपर्दछ । होली बारेमा भनिन्दै आएका मिथक, कथा र परम्परा अनुसार यो पर्व सप्तरंगी रंगहरुको पर्व हो । मानव समाजको विकासकोक्रममा मानिसले आफूलाई चाहिने वस्तुहरुको पनि निर्माण गर्दै गयो ।
सोहीक्रममा कथाहरु जे जसरी जोडिएर आएका भएपनि रंगहरुको आवश्यकतालाई पूरागर्न विभिन्न रंगहरुको पनि आवष्कार हुँदै गए । यसैक्रममा रंग खेलेर पर्वहरु रमाउने क्रम चल्दै आयो । आज पनि प्राय सबै चाडहरुमा रंगहरुको प्रयोग भइरहकै छ । विस्तारै समाजको आवश्यकता र बिसौनीकारुपमा विकास भएका चाडहरुमा प्रयोग हुँदै आएका रंगहरुलाई एकसाथ मिसाएर रंगहरुको पर्व होली मनाउँदै आएको परम्परालाई आज पनि मानिसहरु संस्कृतिकोरुपमा मनाइरहेका छन् ।
त्यसकारण नेपालमापनि पहाड र हिमालमा फरक र तराईमा फरक दिनमा होली मनाईंदै आएको छ । यसलाई आपसी विश्वास र सद्भाव विकासकोरुपमा लिइनु पर्दछ र सबै चाडहरुलाई सुसंस्कृत र वैज्ञानिक बनाउँदै लैजानु पर्दछ । चाडपर्वहरुले समाजमा विद्धेस फैलाउन होइन मानवीय भावनाको विकासमा सहयोग पुर्याउनु पर्दछ ।
कोरोनाको कहरको यो सायमा होली खेल्दा स्वास्थ्यमा पर्न सक्ने असरलाई ख्याल गर्नुपर्दछ । कोरोना महामारीबाट बच्न अपनाइएका उपायहरुलाई पनि यसबखत ख्याल गर्नुपर्दछ । धेरैजना एकै ठाउँमा जम्मा हुन सरकारले प्रतिबनध लगाएको यो अवस्थामा अफ्नो सुरक्षा बारे आफै चनाखो भएर मात्रै होली पर्वलाई मनाउनु पर्दछ । २०७७ सालको होलीको शुभकामना ।