• बैशाख १८ २०८३, शुक्रबार

भोलिदेखि लोक सेवा आयोग पदाधिकारीविहीन बन्दै

चैत्र ९ २०७७, सोमबार

काठमाडौं । भोलिदेखि लोक सेवा आयोग पदाधिकारीविहीन बन्ने भएको छ ।
आयोगका अध्यक्षलगायत पाँचै जना पदाधिकारीको पदावधि यही १० चैतदेखि समाप्त हुँदैछ । राजनीतिक खिचातानीका कारण प्रधानमन्त्रीको अध्यक्षता रहने आयोगमा संवैधानिक परिषद्ले समयमा नै पदाधिकारी सिफारिस र नियुक्ति गर्न नसक्दा लोकसेवा आयोग एकैपटक पदाधिकारीविहीन बन्न लागेको हो ।

आयोगका अध्यक्ष उमेशप्रसाद मैनाली, विन्द्रा हाडा भट्टराई, अशोककुमार झा, ब्रम्हदेव राय र कृष्णचन्द्र झा भोलिदेखि सेवा निवृत्त हुनासाथ ११ चतदेखि नै आयोगका सबै काम ठप्प हुने लोकसेवा आयोगले जनाएको छ ।

मंगलबारदेखि आयोग पदाधिकारीविहीन भएसँगै आयोगका सबै काम प्रभावित हुने बताइएको छ । पदाधिकारी नहुँदा नियमित प्रशासनिक बाहेक, परीक्षा सञ्चालन गर्ने, अन्तर्वार्ता लिने तथा नतिजा निकाल्नेलगायत आयोगका नियमित कार्य सबै ठप्प हुनेछन् ।

संविधानको धारा २८४ को उपधारा ३ अनुसार संवैधानिक परिषद्ले संवैधानिक निकायका कुनै प्रमुख वा पदाधिकारीको पद रिक्त हुनुभन्दा एक महिनाअगावै नियुक्तिका लागि सिफारिस गर्नुपर्ने प्रावधान छ ।