• बैशाख १८ २०८३, शुक्रबार

मर्स्याङ्दी नदी किनारमा ट्रक खस्दा एकै परिवारका ३ जनाको मृत्यु 

चैत्र ७ २०७७, शनिबार

लमजुङ । मर्स्याङ्दी नदी किनारमा ट्रक खस्दा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । मनाङ नासों गाउँपालिका ४, खोत्रोमा ट्रक दुर्घटना हुँदा नाबालकसहित एकै परिवारका ३ जनाको मृत्यु भएको हो ।

शनिबार दिउँसो करिब साढे ३ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ ।

लमजुङ बेंसीसहरबाट सिमेन्ट बोकेर मनाङ सदरमुकाम चामे जाँदै गरेको ध१ख ५९२ नं. ट्रक उकालो चढ्ने क्रममा अनियन्त्रित भइ ‘ब्याक’ हुँदा सडकबाट करिब ४५ मिटर तल मर्स्याङ्दी नदी किनारमा खसेको हो ।

शनिबार दिउँसो दुर्घटना भएको मनाङका डीएसपी सुवास खड्काका अनुसार दुर्घटनामा परेर मनाङको नासों गाउँपालिका ४, ओडार गाउँका अन्दाजी ७ वर्षीय लिउन गुरुङ, ३५ वर्षीया मनिषा गुरुङ र २६ वर्षीया जलकाशी गुरुङ छन् । मृतक लिउन मनिषाको छोरा हुन् । मनिषा र जलकाशी दिदीबहिनी हुन् ।

दुर्घटनाका घाइते भएकालाई उपचारका लागि बेंसीसहरस्थित जिल्ला अस्पताल पठाइएको छ । मृतक ३ जनाको पोस्टमार्टमका लागि जिल्ला अस्पताल मनाङमा पठाइएको प्रहरीले जनाएको छ ।