सर्वोच्च अदालतबाट पुनर्स्थापित संसद फेरि पनि संकटमा परेको छ । यो संकट संसदीय जोडघटाउमा गएर अडिएको छ । यसका पछाडि केही विचार, केही नैतिकता र थप केही जिम्मेवारीका कुरा पनि मधुर स्वरमा उठाइएका छन्, तापनि संसदमा अंक गणितीय खेल नै प्रभावकारी रहन पुगेको छ । प्रायः यही गणितीय खेलका कारण नेपालको संसदीय व्यवस्थाले बेलाबेलामा अवैधानिक संघर्ष, सडक संघर्ष र सशस्त्र संघर्षको सामना गरिरहेको छ ।
नेपालको संसदीय व्यवस्था भर्खरै अभ्यासमा आए पनि यसको इतिहास धेरै पुरानो छ । युरोपहुँदै नेपालम्म आइपुग्दा यो आफैमा किनाराकृत हुन पुगेको छ । यसले समस्या समाधान गर्नसक्ने देखिंदैन । यो आफै समस्यामा परिरहेको छ । अहिले पनि संसदीय व्यवस्थामा नेता नै खराब हुन् कि व्यवस्था नै खराब हो भन्ने प्रश्न उठिरहेको छ । बहस चलिरहेको छ ।
देशमा भौतिक विकास निर्र्माण तथा आर्थिक विकास अझै पछौटे अवस्थामा छ । अल्प विकसित देशबाट अबका पाँच वर्षमा विकासशील देशमा उक्लदै गरेको नेपालसामु धेरै चुनौती आइपरेका छन् ।
यी चुनौतीको सामना गर्न कम्तिमा पनि दूरदर्शी नेतृत्व र सरकारमा जनपक्षीय स्थायित्व आउनु ज?री छ । यसले मात्र नेपाललाई त्यो दिशातर्फ डोर्याउन सक्छ । हाल देशमा रहेको संसदीय व्यवस्थाका केही मूल्य र मान्यताहरु छन् । ती मूल्य र मान्यता कम्तिमा पनि देशका नेता तथा हर्ताकर्ताले पालना गर्नैपर्छ । होइन भने व्यवस्थाको नाम एउटा र नेताहरुले गर्ने क्रियाकलाप अराजकता र स्वेच्छाचारितामा परिणत हुन जान्छ । यसले न त व्यवस्था बचाउँछ, न त नेता र राजनीतिक पार्टीलाई नै स्थापित गराउँछ । यसले राजनीतिलाई बर्बरतातिर डोर्याउँछ ।
संसदीय अंकगणितीय खेल खेल्दा पनि त्यसका केही निस्चित मान्यतालाई आत्मसात् गर्नैपर्छ । हरेक कुराका निस्चित विधि र मान्यताहरु छन् । तिनै विधि र मान्यताहरु उल्लंघन गरियो भने त्यो कुरा आफैमा अस्तित्वमा रहन सक्दैन । त्यसको वस्तुतः अन्त्य हुनु अनिवार्य हुन्छ र हुनजान्छ पनि ।
हालको नेपाली राजनीतिक खेल आफैमा संसदीय अस्तित्वमा रहेको खेल हो । तर यो खेल खेल्दा कम्तिमा पनि यसका सैद्धान्तिक, वैचारिक, राजनीतिक र सांस्कृतिक मूल्यमान्यताको अनुपालन गरिनु जरुरी हुन्छ । नेताहरुले सोचेको समाजवादी व्यवस्था ल्याउने कुरा पछिको कुरा हो । आउन सक्छ पनि र नआउन पनि, तर जुन धरातलमा टेकेका छौ, त्यसको अपमान नगर ।