अबको पाँच वर्षभित्र नेपालको विकासशील देशमा उन्नति हुँदैछ । यो नेपालीका लागि सुनौलो अवसर हो । नेपाल अल्प विकसित देशमा रहने छैन । विदेशमा जाँदा पनि र विदेशसँगको समकक्षतामा पनि यसको हैसियत केही माथि र सुहाउँदो हुने छ । यो देश र नेपाली जनताको सामूहिक प्रतिष्ठाको विषय हो । यसका लागि नेपालले सन् १९६० देखि सन् २०२१ बीचको लगभग ६५ वर्षे लामो अन्तराल व्यतित गरेको छ ।
विकासशील देशमा दर्ज हुनका लागि यसले संयुक्त राष्ट्रसंघको विकास नीति समितिले तय गरेको केही खास मापदण्ड पार गरेको छ । देशमा हुने औद्योगिक विकास र मानव सूचकांकको मापदण्ड यसले पूरा गरिसकेको छ । तर पनि प्रतिव्यक्ति आयको मापदण्ड यसले पूरा गर्न बाँकी छ । यो लगभग आगामी पाँच वर्षमा पूरा हुने आँकलनका साथ विकास नीति समितिले नेपाललाई विकासशील राष्ट्रमा सिफारीस गरेको छ ।
विकासशील राष्ट्रका केही खास विशेषता छन् । यसलाई अन्तर्राष्ट्रमा पनि त्यही मान्यताको मापदण्ड अनुसार व्यवहार गरिन्छ । यसको प्रभाव नेपाली अर्थतन्त्रमा सिधा पर्ने छ । त्यो हो, यो आफैमा आत्मनिर्भर बढी, निर्यातमुखी बढी, बढि प्रतिस्पर्धात्मक र उत्पादनमा गुणात्मकता आएको हुनु पर्ने छ । यसले अब विश्व बजारमा तोकिएका केही मापदण्ड पूरा गर्न तयार हुनु पर्ने छ ।
देशभित्र पनि हाल पूरा हुन नसकेको प्रतिव्यक्ति आयलाई बाह्रसय बाइस डलरभन्दा माथि पुर्याउनु पर्ने छ । वैदेशिक ऋण लिंदा शुन्य व्याजदरमा पाइने छैन । निस्चित व्याज दरमा ऋण तिर्नु पर्ने छ । अन्तर्राष्ट्रिय बजारमा आफ्नो उत्पादन पठाउँदा निस्चित व्यापार कर तिर्नुपर्ने छ । हाल नेपालमा बढ्दै गरेको प्रतिव्यक्ति आय विप्रेषणमा आधारित छ । विप्रेषण आफैमा भरपर्दो आयस्रोत होइन र यसमा अत्यधिक उतारचढाव आइरहन्छ ।
वैदेशिक रोजगारमा हाल गैरहेका अदक्ष नेपाली जनशक्तिलार्ई समय र परिस्थितिअनुसार दक्ष र सक्षम बनाउन सकेनौ भने नेपाली श्रम अन्तर्राष्ट्रिय श्रमबजारमा यही मात्रामा स्वीकार्य भैरहला भन्न सकिदैन । यसका लागि घरेलु तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सचेत पहल लिनु जरुरी छ । सक्षम र दक्ष जनशक्ति मात्र अबका दिनमा वैदेशिक रोजगारका लागि निर्यात गर्न सकिने नेपाली श्रम हुने छ ।
देश आफैमा कुशासनको सिकार भैरहेको छ । यसको ठाउँमा सुशासनको जरुरी छ । यसका लागि राजनीतिक प्रतिबद्धता पहिलो शर्त हो । त्यसपछि आर्थिक, सामाजिक तथा नैतिक प्रतिबद्धता जरुरी हुन आउँछन् । देश त्यत्तिकै उँभो लाग्ने देखिदैन । यसका लागि देखा परेका चुनौतीलाई अवसरका रुपमा लिएर अघि बढ्नु जरुरी छ ।