कोभिड-१९ को महामारीले नयाँनयाँ स्वरुप ग्रहण गर्दै विश्व आक्रान्त बनाइरहेको बेला विश्व स्वास्थ्य संगठनबाट स्वीकृतिप्राप्त खोपको पहिलो चरणमा नै जोखिममा रहेका मानिस खोपबाहिर रहेका देखिन्छन् । कोभिड संक्रमित बिरामीसँग रहने, समूहमा बस्ने, सुरक्षामा खटिने तथा अस्पताल र औषधीय सेवामा संलग्नलाई खोपको पहिलो प्राथमिकतामा पारिए पनि लगभग ४० प्रतिशतभन्दा बढिले यो खोप लिन मानिरहेका छैनन् ।
यस्तो प्रक्रिया नेपालमा मात्र होइन, विश्वमा विकसित भनिने देशमा पनि देखिएको छ । औषधि उत्पादनकर्ता देश अमेरिका, बेलायत, चीन, रुस, भारतमा पनि यस्तो देखा परेको छ । अग्रमोर्चामा रहेका पनि किन त्यति उत्साहित छैनन् त खोप लिनका लागि भन्ने कुरा निकै चासोको विषय बनिरहेको छ । किनकि, खोप आविष्कार नहुँदासम्म खोप आएमा पहिले आफूले नै पहिले लगाउने भन्नेहरु पनि अहिले केहि पछि हच्किएका छन् ।
यसले कोभिड–१९ विरुद्ध दिइन थालिएको खोपप्रति केही उपेक्षाभाव झल्काउँछ । महामारी उन्मूलन वा त्यसको रोकथाम अब खोपविना संभव छैन । खोपविरुद्ध बहिस्कार र विरोधका स्वरहरु त सुनिएका छैनन्, तर वेवास्ता भने बढेर नै गएको देखा परेको छ । छिमेकी देश भारतबाट निःशुल्क रुपमा उपलब्ध गराइएको केभिशिल्ड खोपको मात्रा पहिलो चरणमा नेपालमा अपेक्षा गरिएजति मानिसले लिएनन् ।
पहिलो कुरा, नेपालमा कोभिड-१९ भनेको रुघाखोकी जस्तै सामान्य हो भन्ने आमधारणा बन्न जानु हो । दोस्रो, यो खोपले गर्ने लाभहानीका बारेमा प्रष्ट नपारिनु हो । यसले खोपको विश्वसनियतामा कमी ल्याएको छ । खोपसँगै फैलाइएको अनावश्यक हल्ला र त्यसले सिर्जना गरेको मनोविज्ञानले पनि काम गरेको छ । यो गलत मनोविज्ञानको जालो तोड्नु जरुरी छ ।
सबैभन्दा ठूलो कुरो त खोप जनस्वास्थ्यका रुपमा नभई व्यापारका रुपमा लिनेदिने गरिएको भ्रमले पनि काम गरेको छ । लेनदेन र ठेक्कापट्टा गर्दा व्यापारजस्तो देखिए पनि यो सबै जनस्वास्थ्यका लागि गरिएको भन्ने प्रष्ट नपारिएको कुराले पनि केही असर गरेको छ ।
योसँगै केही प्रतिशत मानिस घरेलु, आयुर्वेदिक तथा प्राकृतिक चिकित्सा पद्धतिमा अभ्यस्त छन् । यसले पनि खोपप्रतिको चासोमा कमी ल्याएको छ । केही आनाकानी र हिच्किचावट पैदा गरेको छ । यी कुरा भन्दा पनि जोखिमको अग्र मोर्चामा काम गरिरहेका मानिसहरु नै खोपबाट बाहिर हुनु बढि चिन्ताको विषय बनेको छ ।