• मंसिर २० २०८१, बिहीबार

हिमपात र शीतलहरमा जलवायु परिवर्तनको असर

माघ २५ २०७७, आईतवार

शनिबार साँझपख काठमाडौं उपत्यका वरपररहेका अग्ला डाँडा क्षणभरमै हिउँले छपक्कै छोपिए । चीसो ठण्डीसँगै परेको हिउँले शिवपुरी, चन्द्रागिरि, फूलचोकीसहित नगरकोट क्षेत्र पनि सेताम्यै बनायो । प्रकृति आफैमा सर्वव्यापी हुन्छ । हिउँ पर्ने क्रममा काठमाडौं आसपासका क्षेत्रमध्ये मकवानपुरको दामन र पालुङ हिमपातको केन्द्रविन्दु नै बन्न गए । खरिबोट र नगरकोट पनि अछुतो रहेनन् । दोलखाको कालिञ्चोक, गौरीशंकर संरक्षण क्षेत्र, तथा सिन्धुपाल्चोकको शेर्माथान, हेलम्बु, पाँचपोखरी पनि सेताम्यै हिम चादरमुनि लके ।

देशव्यापी र विशेषतः दुई दिनदेखि काठमाडौं उपत्यकामा आएको मौसमी बदलावका कारण चीसोले टिकि नसक्नु भैरहेको थियो । पहाडमा विनावर्षा ठिहिराएको चीसोसँगै हिउँ पर्न थालेपछि तराइमा शीतलहर सुरु भएको थियो । जनसाधरणको मौसमी अनुमानमा भने देशभर असिनापानी पर्नेजस्तो मौसम बनेको चर्चा भैरहेको थियो ।

आकाशमा खासै बादल पनि देखिएको थिएन । तर हुस्सुको प्रदुषणले उपत्यका लगायत देशभरको आकाश डम्म ढाकेको थियो । यो प्रदुषण आफैमा वर्षा हुने संकेत भने होइन, तथापि मानिसलाई पानी परे पनि आकाश फाट्ने र सफा वातावरण हुने आशा थियो । तर एक्कासी हिमपात भयो । हिमपात हुनु आफैमा नराम्रो त होइन, तर हिउँ पर्दा प्राकृतिक देखिए पनि विनावातानुकूलन अपर्झट देखिने यस्ता कार्य शतप्रतिशत प्राकृतिक भने होइनन् ।

यिनमा मानवका वातावरणविरोधी कामकार्यले ठूलो असर पारिरहेका हुन्छन् । यस अघि आएको दिल्लीको प्रदुषणले पनि नेपाली आकाश ढाकेर नेपाली जनजीवन कष्टसाध्य बनाइरहेको थियो । अहिले पश्चिमी वायु नेपालमा भित्रिएको छ, तर पानी कम लिएर आएको छ । यसले हिमपात र शीतलहर बोकेर आएको छ । स्वाभाविक प्राकृतिक वर्षा हुनबाट रोकेर त्यसको भिन्न स्वरुपमा आएका हिमपात र शीतलहर मानवका लागि जोखिम रहने गरेका छन् ।

काठमाडौंलगायत केही स्थानमा हल्का वर्षा भए पनि आवश्यक मात्रामा वर्षा नहुँदा यसले मानव तथा वानस्पतीय जीवनमा प्रभाव पारिरहेको छ । पृथ्वीको बाहिरी सतह भूत्वकमा प्राकृतिक सन्तुलन पनि गुम्दै र हराउँदै गइरहेको छ । सामान्य आँखाले हेर्दा पनि पानी परेसँगै हिउँ पर्नुपर्ने अवस्था सिर्जना भएको छैन । धूले माटोमाथि हिउँ थप्रिएको छ । हेर्दा लाग्छ, मानिसले ‘बरुणास्त्र’ प्रहार गरेर जबर्जस्ती हिउँ पारेको पो हो कि ! किनकि स्वाभाविक र प्राकृतिकपन हराउँदै गैरहेको छ ।

नेपालजस्ता संसारकै सबैभन्दा अग्ला हिम चुचुरा, महाभारत, चुरे तथा तराइको भूभाग रहेका देशहरु जलवायु परिवर्तनबाट बढि प्रभावित हुने देखिन्छन् । यसका लागि नेपालले गर्न सक्ने उपायहरुको खोजी गरी अघि बढ्नु जरुरी देखिन्छ ।