• मंसिर २० २०८१, बिहीबार

सबैका आ-आफ्ना तयारी कति सार्थक ?

माघ १८ २०७७, आईतवार

संसद विघटन गरी नयाँ जनादेशका लागि चुनावको घोषणा गरिएसँगै अस्तित्वमा रहेका हरेक शक्ति र संगठनहरुले आआफ्नो खालको तयारीलाई अघि बढाइरहेका छन् । देशमा सबैको क्रियाशीलता देखिएको छ, तर त्यो क्रियाशीलता एउटै दिशामा मोडिएको छैन । आआफ्ना लक्ष्य र उद्देश्य अनुसार यी दुई भिन्न दिशामा मुख फर्काएर हिंडिरहेका छन् ।

सरकारले चुनाव लक्षित कार्यक्रम अघि बढाइरहेको छ । यसका सबै काम रुपमा हेर्दा चुनाव केन्द्रित नै देखिन्छन् । सरकारी कार्यालय तथा सम्बन्धित विभागहरु पनि चुनाव केन्द्रित काममा लागि रहेका छन् । निर्वाचन आयोग अब छिट्टै दल दर्ताको प्रक्रिया अघि बढाउने तयारीमा लागि परेको छ । गृह प्रशासन चुनावका लागि सुरक्षा व्यवस्थामा खटनपटनको कार्यविभाजनमा देखिएको छ ।

त्यसै गरी सशस्त्र प्रहरीले आफ्नो तयारी गरिरहेको छ । यसले आन्तरिक रुपमा दंगा र हुल नियन्त्रणका लागि आफुहरुको कमाण्ड निर्धारण गरिरहेको छ । गुप्तचर विभागले पनि आआफ्नो क्षेत्रबाट सूचना संकलन गरिरहेको छ । सरकारी विभाग र संयन्त्रहरु आआफ्ना काममा लागिरहेका छन् ।

तर हिजोका सत्ताधारी प्रचण्ड–माधव आज सरकार छाडेर सडकमा निरन्तर संघर्ष गर्दै र शक्ति प्रदर्शन गर्दै अघि बढिरहेका छन् । उनीहरुको तयारी चुनावका लागि होइन, संसद पुनस्र्थापनाका लागि भैरहेको छ । यो तयारीले आन्दोलनको रुप लिने देखिन्छ । विघटित संसदमा प्रतिपक्षीका रुपमा रहेको नेपाली कांग्रेस दुवै हातमा लड्डु लिने गरी सडकमा उत्रिएर जनपरिचालनमा लागि परेको छ । नयाँ जनादेश वा संसद पुनस्र्थापनाको विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको भन्दै कांग्रेसले संसद पुनस्र्थापना भए पनि ठीक र ताजा जनादेशमा गए पनि ठीक हुने गरी आफ्ना कार्यकर्ता र समर्थक तथा शुभचिन्तक परिचालन गरी सडक तताउँदै आएको छ ।

अन्य ससाना राजनीतिक पार्टीहरु पनि अन्यमनस्कतामा रहेकाले उनीहरुको तयारी कतै पनि देखिने खालको छैन । तथापि उनीहरुको आवाज भने संसद बिघटनका विरुद्धमा रहेको छ । सर्वोच्चको इजलासमा संसद बिघटनको राजनीतिक विषयमा व्याख्यासहित टुंगो लाग्न बाँकी रहेकाले नेपाली राजनीतिक रंगमञ्चमा कसको तयारीको कति प्रभावकारिता रहन्छ, त्यो हेर्न बाँकी छ ।