आज माघ १६, सहिद दिवस ! हाम्रा प्रातःस्मरणीय तथा आदरणीय मानिसको असिम संझनाको दिन ! गणतन्त्र स्थापना गर्दासम्म हामीले नेपाली राजनीतिक आन्दोलनका लामालामा श्रृंखला पार गरिसकेका छौं । यो बेलामा आउँदासम्म हामीले हाम्रा थुप्रै आफन्तहरुलाई गुमाएका छौं र सहिद बनाएका छौं । उनीहरुको बलिदानका कारण आज हामी सापेक्ष केही राम्रो व्यवस्था अर्थात् गणतन्त्र पनि पाएका छौं ।
तात्कालीन जहानियाँ राणा शासनविरुद्ध प्रजातान्त्रिक व्यवस्थाको माग गरेर गरिएको आन्दोलनमा शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ, दशरथचन्द र धर्मभक्त माथेमा गरी ४ जना सहिदले आफ्नो प्राणको आहुति दिएर २००७ सालमा संवैधानिक राजतन्त्रात्मक बहुदलीय व्यवस्था स्थापनामा ठूलो योगदान दिएका थिए । त्यो व्यवस्था २००७ साल देखि २०१७ सालको आधाआधीसम्म चल्यो ।
त्यसपछि पञ्चायती व्यवस्था लागु गरियो ।
नेपाली कांग्रेस र कम्युनिष्ट पार्टीहरुले पञ्चायती व्यवस्थाविरुद्ध संघर्ष गरे । त्यसक्रममा धेरैले प्राणको आहुति दिए । पुनः प्रजातन्त्र स्थापनाका लागि धेरैले बलिदान गरी सहिद बने । यसको परिणामस्वरुप २०४६ सालमा संसदीय व्यवस्थाको पुनस्र्थापना भयो ।
यो व्यवस्था जनचाहनाअनुरुप चल्न सकेन । फलतः २०५२ सालदेखि देशमा माओवादी जनयुद्ध सुरु भयो । दशवर्षसम्म चलेको यो सशस्त्र युद्धमा देशमा सबैभन्दा बढि सहिद भए । यसले २०६२-०६३ को वृहद् जनआन्दोलनमा देशलाई पुयार्यो । फलतः देशमा शान्ति सम्झौता भई स्थापना भएको संसदबाट राजतन्त्रको अन्त्य गरी गणतन्त्र घोषणा गरियो । संविधानसभा मार्फत् देशको संविधान निर्माण गरियो । देशलाई संघीयताको राजनीतिक संरचनामा ढालियो ।
हाल देशमा संघीय, प्रादेशिक र स्थानीय गरी तीन तहका सरकार निर्वाचित भई कार्य सम्पादन गरिरहेका छन् । जनताका लागि सरकारी सेवा र भरोसा जनताको घरघरमा पुर्याउने उद्देश्य अनुरुप तीन तहका सरकार काम गरिरहेको अवस्थामा संघीय सरकारमा संकट पैदा भएको छ । जनताको म्यान्डेट अनुसार सरकार र राजनीतिक पार्टीहरु चल्न नसकेको आभाष नेपाली जनतामा हुन थालेको छ ।
यस्तो अवस्थामा जनता निकै चिन्तामा छन् । कसैले पनि गरी खान नसक्ने भए भन्ने सोच बनाइरहेका छन् । यो बेलामा मनाइँदै गरेको सहिद दिवस जनता र सहिद परिवारका लागि लागि हास्य नबनेर मल्हमपट्टी बनोस् । सहिदका सपना साकार पारौं ।