नेपाली समाजको आफ्नै मौलिक परम्परागत धार्मिक कथा–काव्य मानिने श्रीस्वस्थानी ब्रतकथा बिहीवारबाट आरम्भ भएको छ । समयावधिका हिसाबले यो ब्रत पौषशुक्ल पूर्णिमाबाट सुरु भई माघ शुक्लपूर्णिमा अर्थात् फागुन १५ गतेसम्म सिंगो एक महिना रहन्छ । हिन्दू धर्मावलम्बी महिला एक महिनासम्म ब्रत बसेर चोखोनिधो गरी श्रीस्वस्थानीको दैनिक पूजा आराधना गर्दछन् ।
कथाअनुसार सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन स्वस्थानीको कठोर ब्रत गरेकी र ब्रतबाट उनको मनोइच्छा पूरा हुन गएको छ । ब्रतका अवधिभर ब्रतालु महिलाले शरीर, मन र चित्त शुद्धिमा ठूलो ख्याल राख्ने गर्दछन् । हात खुट्टाको नङ काट्ने, नित्य स्नान गर्ने, अभक्ष कुराहरु नखाने र एकचित्त भएर धार्मिक साधनामा लाग्ने गर्दछन् । कथामा मानव पात्रले भूमिका निर्वाह गरे पनि यसलाई भगवान केन्द्रित र परलौकिक बनाएर रोचकता प्रदान गरिएको छ ।
स्वस्थानी ब्रत कथामा वर्णन भएअनुसार हरेक दिन दिउँसो स्वस्थानी कथा वाचन र पुजा गरिने भनिए पनि नेपाली समाजमा दिउँसोको कामधन्धा सकेर साँझमा मात्र सबै परिवार जम्मा भएर ब्रतालुसँग सहभागी भै कथावाचन गरी पञ्चामृत र प्रसाद ग्रहण गर्ने चलन छ । हरेक दिन ब्रतालुले एक छाक चोखो खाई स्वस्थानीको पूजा गर्ने प्रचलन छ ।
एक महिनापछि ब्रतको समापनका दिन कथामा वर्णन गरिएअनुसार रोटी, पान सुपारी आफ्ना श्रीमानलाई, श्रीमान नभए छोरालाई, छोरा नभए मित छोरालाई, मित छोरा पनि नभए मेरो इच्छा पूरा होस् भनेर केही भाग नदीका लागि सकभर शाली नदी नभए अन्य नदीमा भए पनि बिसर्जन गरी बाँकी आफूले खाने चलन छ । यसो गर्दा पुरुष प्रधानतामा जोड दिइएको छ ।
धार्मिक फलप्राप्तिका हिसाबले स्वस्थानी ब्रतमार्फत् पारिवारिक सुख, शान्ति र समृद्धि मिल्नुका साथै रोगब्याधीबाट पनि मुक्ति पाइने विश्वास गरिन्छ । कथामा नेपाली मौलिकता रहेकाले पनि नेपालीहरु माझ यसको महत्व घटेको देखिदैन ।