• मंसिर २० २०८१, बिहीबार

कोरोनाविरुद्ध ‘कोभिशिल्ड’ खोप सुरु

माघ १४ २०७७, बुधबार

काठमाडौँ। बहुप्रतिक्षित कोभिड विरुद्धको खोप बुधवारदेखि देशभर दिइँदै छ । यसले सबैमा कौतुहलता ल्याएको छ । खोप लगाउनेहरुका लागि यसले कुनै साइड इफेक्ट ल्याउँछ वा ल्याउँदैन भन्ने जिज्ञासा पैदा गरेको छ । खोप लगाउन पर्खनेहरुका लागि पालो कहिले आउला भन्ने प्रश्न खडा गरिदिएको छ । तर खुशीको कुरा छिमेकी देश भारतको सहयोगका कारण नेपालीले दक्षिण एशियामा पहिलो लटमै खोप लगाउन पाए ।

पहिलो लटमा बुधवार खोप लगाउनेहरुले यसको एकमहिनापछि फेरि अर्को डोज खोप थपेर लगाउन पाउने छन् । कोभिड विरुद्धको खोप एक महिनाको अन्तरमा दुई डोज लिनु पर्ने हुन्छ । यसका लागि सरकारले सबै तयारी पूरा गरिसकेको छ । खोप लगाउने ठाउँमा आवश्यक स्टोरेजको व्यवस्थासहित सातवटै प्रदेशमा खोपको मात्रा पुर्याइसकिएको छ ।

सरकारले जोखिमको आधारमा गरेको प्राथमिकीकरणमा कोभिड संक्रमितविरुद्ध अग्र मोर्चामा खटेर सेवा दिइरहेका चिकित्सक, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी, स्वयम् सेवक तथा अन्य सहयोगी पहिलो सेवाग्राहीमा परेका छन् । त्यसपछि समूहमा बस्ने कैदी बन्दीहरु पारिएका छन् । देशभरका ज्येष्ठ नागरिक तथा दीर्घ रोगीहरु पनि यसको प्राथमिक सूचीमा सुचिकृत भएका छन् ।

अस्पतालमा भर्ना भई उपचार गराइरहेका कोभिड संक्रमित बिरामी तथा भेन्टिलेटरमा सेवा लिइरहेका पनि यो खोप लिन पाउनेको सूचिमा छन् । त्यसपछिको दोस्रो लटमा जनसाधरण राखिएका छन् । नागरिकहरु पहिलो लट खोपको असर र प्रभावकारिताको पर्खाइमा छन् । खोपविरुद्ध कुनै पनि गम्भीर सिकायत वा आलोचना छैन । बरु खोपमा कत्तिको प्रभावकारिता छ र यसले कुनै साइड इफेक्ट गर्छ कि गर्दैन भन्ने कुरामा जिज्ञासा भने छ । यो स्वभाविक कुरा हो ।

खोप सुरक्षितरुपमा लक्षित सबैमा छिटोभन्दा छिटो पुर्याइयोस् भन्ने चाहना नागरिकामा छ । उठेका जिज्ञासाहरुलाई लिएर तिनको सान्त्वनाका लागि सरकारले १६–बुँदे जानकारीमूलक सूचना पनि प्रकाशनमा ल्याएको छ । जनतालाई कुनै पनि कामका बारेमा सुसूचित हुने अधिकार छ । त्यस्तै सरकारले पनि समयमै सूचना दिनु पर्ने दायित्व रहेको छ । तर अहिले देशैभर खोपमैत्री वातावरण सिर्जना हुनु आफैमा सन्तोषको स्वास लिने समय बन्न गएको छ ।

बुधवारदेखि खोप चालु भैसकेकाले यसको प्रभावकारिता र साइड इफेक्टका लागि पर्खिरहनु पर्ने छैन । यस अघि यो खोप लिइसकेकामा गरिएको अनुसन्धानका आधारमा यो खोपमा ६० देखि ९० प्रतिशतसम्म प्रभावकारिता रहेको खुल्न आएकाले नेपाली जनस्वास्थ्य जगतमा पनि यसको सकारात्मक प्रभाव रहने छ । सुधारात्मक र कोरोना प्रतिरोधात्मक जनस्वास्थ्यमा सबैको जोड रहोस् ।