ताजा जनादेशका लागि चुनावमा जाने वा बिघटित संसद पुनस्र्थापना गर्ने भन्ने विषयलाई लिएर देश अहिले विभाजित अवस्थामा छ । एउटै सिक्काका दुई पाटाका रुपमा देखिने यी दुई विपरीत मुद्दा लिएर पार्टीहरु जनताका बीचमा पुगिसकेका छन् । मुद्दाहरु अब संघर्षका रुपमा अभिव्यक्त हुन थालेका छन् ।
सत्ताधारी पार्टी नै दुई चिरामा विभक्त भएपछि यसले देशव्यापी विकराल स्वरुप लिन लागेको देखिएको छ । नेताहरुका बीचमा उठेको राजनीतिक विवाद अब आमजनतामा पुग्न थालिसकेको छ । स्थानीय क्षेत्रमा पनि झडप र तनाव सिर्जना भैरहेको छ । हरेक दिन विरोध जुलुश र एकअर्काविरुद्ध विरोधमा कार्यक्रमहरु भैरहेका छन् । यसले कार्यकर्ता र जनतामा तामसी प्रवृत्तिको विकास गरिरहेको छ ।
एकअर्कामा बदला भाव र देखेस पखेस्को भावोत्तेजना पैदा भैरहेको छ । तर उठाइएका संघर्षका कार्यक्रमअनुसार कुनै वैचारिक तथा नीतिगत एजेण्डा देखिदैनन् । तथापि आक्रोश र उत्तेजना केही बढी नै छ । नेताहरु कलात्मक तथा साहित्यिक अभिव्यक्तिमा रमाउन थालेका छन् । हरेक दिन भाषणमा नयाँ अभिव्यक्ति दिनु पर्ने बाध्यताका कारण पनि भाषण बढि कलात्मक हुँदै गैरहेको पाइन्छ ।
तर राजनीतिक विश्लेषक, पत्रकार र विज्ञहरुका बीचमा शब्दावली छनौटलाई लिएर विवाद र बहस खडा हुने गरेको छ । यसले पनि देश र जनता विभाजित हुने वातावरण निर्माणमा सहयोग पुगिरहेको छ । पहिलेका दिनहरुमा पनि निर्वाचनका बखत झडप, तनाव र हिंसात्मक घटना हुने गरेका थिए । अहिले यो सदनदेखि सडकसम्म पोखिन पुगेको छ ।
देश अब क्रमशः निर्वाचनमा जाने कि संसद पुनस्र्थापना गर्ने भन्ने विषयमा ध्रुवीकृत हुन थालेको अवस्थामा पुगेको छ । पहिलेका निर्वाचनमा कसले आफ्नो एजेण्डा जनताका बीचमा लैजाने र कति भोट पाउने भन्ने थियो भने अहिले कसले अर्काको कार्यक्रमको प्रभाव निस्तेज पार्ने र आफ्नो सोच हाबी बनाउने भन्ने होडमा छ । यसले संभावित झडप र कित्ताबन्दीतिर नेपाली समाजलाई डोर्याइरहेको छ ।