• मंसिर २० २०८१, बिहीबार

भूकम्प सुरक्षा दिवसको सार्थकता खोई ?

माघ २ २०७७, शुक्रबार

पाँच वर्ष भयो भूकम्प प्रतिरोधी घर निर्माणमा समय बिताएको पनि । तर अपेक्षा गरिएअनुसार न त घरहरु नै बने, न त सरकारी अभियान सन्तोजनक रुपमा पूरा भयो । आज भूकम्प सुरक्षा दिवसको सार्थकता खोज्नु पर्ने बेला आएको छ । २०७२ सालमा भूकम्प जाँदा सबैको मनमा अब त मैले पनि भूकम्प प्रतिरोधी घर बनाउनु पर्छ भन्ने लागेको थियो । भूकम्पले भत्किएका घरहरु भूकम्प प्रतिरोधी घरका रुपमा निर्माण गर्न तात्कालीन सरकारले नीति, योजना र कार्यक्रम नै बनायो ।

भूकम्प प्रतिरोधी घरका ढाँचाअनुसार इन्जिनियर तथा ओभरसियर ठाउँठाउँमा खटाइए । जनसाधरणलाई भूकम्प प्रतिरोधी घर निर्माणका लागि आवश्यक सामग्री, डिजाइन र उपलब्ध गराइने किस्ताबन्दी सहयोग रकमको जानकारीमूलक प्रशिक्षण पनि दिइयो । यसले केही समय उत्साह पनि ल्यायो ।

तर ‘नेपालीको बानी, कहिल्यै नजाने’ भने झैं काममा गति आउन सकेन । सरकार, खटाइएका कर्मचारी र घर भत्किएका स्थानीय जनताकाबिचमा सामन्जस्यता आउन सकेन । उचित तालमेल हुन नसक्नु र बुझाइमा एकरुपता आउन नसक्नुका कारण काम कार्यान्वयनमा ढिलाइ हुन गयो । यसले अपेक्षाकृत सफलता हासिल हुन सकेन ।

स्थानीय प्रविधि, स्थानीय सामग्री तथा सीप र साधनस्रोतको उपयोग गरी नेपाली पहिचान अनुसार ती घरहरुको निर्माण गरिएका भए, ती आज पर्यटकीय क्षेत्रका रुपमा विकसित भैसक्ने थिए । जनताको आगनमा पर्यटक धाइरहेका हुने थिए । घर निर्माण नै आयआर्जनको स्रोत बन्न सक्ने थिए ।

जेजस्ता संरचना निर्माण गर्न लगाइए, ती जनताका मनमा प्रिय लागेनन् । जनता केवल ‘अनुदान लिने त हो, मन लागेका घर पछि बनाऔंला’ भन्ने मनसायले प्रेरित हुन पुगे । यसले पनि भूकम्प प्रतिरोधी बस्ती निर्माणमा ठूलो असर पुर्यायो ।

सरकारका तर्फबाट पनि बेलैमा हुने काममा निकै बिलम्ब गरियो । जनतामा अविश्वास छायो । उत्साह मरिसकेपछि मानिसमा अन्य वैकल्पिक योजनाका तानाबाना निर्माण हुन थाल्छन्, त्यो स्वभाविकै पनि हो । सरकारकै तर्फबाट पनि नियमन र निगरानी तथा जाँचपडताल समयमै हुन सकेन । जनताका स्वास्थ्य, शिक्षा, विकास निर्माण तथा आधारभूत आवश्यकतामा पनि ध्यान दिइएन ।

यसले पनि जनताले आधारभूत आवश्यकताको जोहोमा ध्यान दिए, घर त केही समय ओढारमा बसे पनि त हुने भयो भन्ने अवस्थामा पर्न गयो । यसबारेमा सरकार र अन्य संस्थाह?को ध्यान गएन, भोको पेटले घर निर्माण हुने कुरा पनि भएन । घर बनाउने रकम पेटमा गयो ।

तथापि जे-जति बनेका छन्, ती सामान्य अवस्थामा ठीकै छन् । यसैलाई हाम्रो उपलब्धीका रुपमा लिनु पर्छ । यसका साथै नेपालमा निर्माण भएका बाटाघाटा, पुल पुलेसा र जलविद्युतका ड्यामहरु पनि भूकम्प प्रतिरोधी बनाइन जोड दिइनु पर्छ । आइपरेपछि समस्या झेल्नुपूर्व भूकम्प सुरक्षा दिवसका दिन सरकारले यो कुरा गम्भीरताका साथ मनन् गरोस् !