• मंसिर २० २०८१, बिहीबार

माघे सगराती-माघीको शुभकामना !

माघ १ २०७७, बिहीबार

‘माघे सगराती’ भनौ वा ‘माघी’ ! यो नेपालमा रहेका आदिबासी जनजातिका लागि सबैभन्दा ठूलो चाड हो । यो चाड नयाँ वर्षको सुरुआत पनि हो । यसलाई नयाँ आर्थिक वर्षका रुपमा लिइन्छ । यो आफैमा मानव जीवनमा पेशागत पहिचान र विकासको क्रमसँगै विकसित साँस्कृतिक पद्धति पनि हो ।

ऋतु वा याम परिवर्तनका हिसाबले माघबाट ‘उभेली’ वा ‘उभौली’ सुरु हुन्छ । उभेली-उभौली भनेको हिउँ पग्लन थाल्ने र अग्ला बुकीपाटन हरियोभरियो देखिने ऋतु सुरु हुनु हो । हिमालयको तल्लो तथा महाभारत श्रृंखलाको माथिल्लो भागमा ६ महिना बस्ती र चरिचरणका लागि अनुकूल प्राकतिक वातावरण बन्दै जानु हो ।

साउनमा सुरु हुने उधेली-उधौलीसँगै हिमालमुनिका अग्ला बुकीपाटनबाट भेंडाच्यांग्रा तथा खरीबाख्रा र चौरीगाई पनि महाभारतको तल्लो भेगतिर झारिएको हुन्छ ।

त्यसलगत्तै कात्तिक मंसिरबाट हिउँ पर्न सुरु गर्छ । मंसिर, पुस र माघको आधासम्म यी भेग सेताम्मै हिउँले ढाकिन पुग्छ । माघबाट क्रमशः उभेली लागि गर्मी सुरु हुने भएकाले हिउँ पग्लने क्रमसँगै बस्तुभाउ लिएर हिमालका काँखतिर मानिसहरु उकालो चढ्न थाल्छन् । फागुन, चैत, बैसाख, जेठ, असार र साउनसम्म हिमाली काँखको बसाइ निकै सुखद र रमाइलो हुन्छ ।

यस अर्थमा पशुपालनसँगै कृषि युगको सुरु भएपछिको सबैभन्दा पुरानो र प्राकृतिक मानव जीवनको अभ्यासले पालन गर्न सिकाएको संस्कृति हो, माघे सगराती । त्यसैले यो नेपालका आदिबासी जनजातिको अभिन्न संस्कार र संस्कृति बनेर आएको छ ।

पहाडमा उभौलीको आगमन संकेत गर्ने माघे सगराती र तराइमा थारु समुदायको नयाँ वर्ष, नयाँ आर्थिक वर्ष र नयाँ नेतृत्व चयनको कबिलायी प्रजातान्त्रिक अभ्यासको संकेत गर्ने माघीको हार्दिक शुभकामना !