• बैशाख १३ २०८३, आईतवार

राष्ट्रिय फुटबल टोलीका पूर्वगोलरक्षक शाहीको निधन

पुष २७ २०७७, सोमबार

काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वगोल रक्षक तथा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पूर्व महासचिव लोकबहादुर शाहीको निधन भएको छ । शाहीको ६५ वर्षको उमेरमा आइतबार राति निधन भएको हो ।

लामो समयदेखि विभिन्न रोगबाट पीडित शाहीको दैलेखको चौडत्तास्थित घरमा निधन भएको एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले जानकारी दिए । उनको आज दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । शाही सन् १९७९ देखि १९८९ सम्म राष्ट्रिय टोलीको गोल रक्षक रहेका थिए ।

सन् १९८४ मा नेपालमै आयोजना भएको पहिलो साफमा नेपालले स्वर्ण पदक जित्दा उनी टोलीको महत्वपूर्ण खेलाडी थिए । शाहीले चार पटक साफ खेल खेलेका थिए । सन् १९८२ मा नवौं एशियाली खेलकूद खेल्दा पनि उनी गोल रक्षक रहेका थिए । शाहीले सन् १९८९ मा राष्ट्रिय टोलीबाट सन्न्यास लिएका हुन् ।

उनी २०५२ सालमा गणेश थापा एन्फाको अध्यक्ष हुँदा महासचिवमा निर्वाचित भएका थिए । पछिल्लो पटक उनी नेपाल बक्सिङ सङ्घको समेत महासचिव रहेका थिए । विसं २०७० मा नेपाल आइस हकी सङ्घ स्थापना हुँदा शाही सङ्घको संस्थापक अध्यक्षमा चयन भएका थिए ।