साँस्कृतिक विविधताको धाम नेपालमा यस वर्ष गुरुङ समुदायले मुसा वर्गको बिदाइ र गाई वर्गको स्वागतसहित तमु ल्होसार देशव्यापी रुपमा धुमधामसाथ मनाइरहेका छन् । यो पर्वले गुरुङ समुदायको आफ्नै रीति, परम्परा, संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्दै आएको छ ।
यसले बेग्लै, मौलिक तर नेपालीको साझा साँस्कृतिक पहिचान पनि दिँदै आएको छ । नेपालीमाझ भएको साँस्कृतिक सद्भाव र उदारताका कारण हरेक जाति र समुदायका पर्व नेपालीका साझा पर्व हुने गरेका छन् । आजको तमु ल्होसार पनि विविध भाषाभाषी तथा संस्कृतिका बीचमा आफ्नै बनेर आएको छ ।
यही सोच, सद्भावपूर्ण व्यवहार र एकआपसी सहयोगका कारण नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसाँस्कृतिक विशेषतायुक्त देश बन्न पुगेको छ । नेपालीको राष्ट्रिय एकता यसैमा अन्तर निहित छ ।
यही संस्कार र संस्कृतिका कारण नेपालीहरु भूगोलका हिसाबले मात्र होइन, अन्तरहृदयदेखि एकआपसमा युगौंदेखि मिलिजुली बस्दै आएका छन् । लामो सहकार्य र सम्बन्धका कारण नेपाली जाति अनेकताका बीचमा पनि एकअर्कामा अभिन्न र साझा छन् । एकले अर्काको साँस्कृतिक अपनत्व स्वीकार गर्ने गरी हरेकको मौलिक पहिचानसहितको साँस्कृतिक पर्व विशेषमा सहभागिता जनाउँदै आएका छन् ।
तमु ल्होसारले विशेष गरी गुरुङ जातिमा र समग्रमा नेपालीहरुका साथै मंगोलिया, चीन, लाओस, थाइल्यान्ड, सिंगापुर, तिब्बत, भियतनाम, ताइवान, मलेसिया, भुटान, फिलिपिन्स, कोरिया, बर्मा, इन्डोनेसिया, हङकङ, भारतका साथै अन्य देशमा ल्होसार मनाइरहेका सबैमा सुख, समृद्धि र शान्ति ल्याओस् । तमु ल्होसारको हार्दिक शुभकामना ।