• बैशाख २३ २०८३, बुधबार

राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीद्वारा (बकरइद) को शुभकामना व्यक्त

असार २६ २०७९, आईतवार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व इद उल अज्हा (बकर इद) को पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली मुस्लिमइहरूमा सुख, शान्ति तथा समृद्धिको लागि शुभकामना व्यक्त गरेका छन् ।

राष्ट्रपति भण्डारीले मुस्लिम समुदायको ठूलो चाडको रूपमा रहेको इद उल अज्हा (बकर इद) संयमता, धैर्यता, विश्व शान्ति र भाइचाराको सन्देश दिने चाड भएकाले यो पर्व एक आपसमा खुसी, सद्भाव तथा शुभकामना आदानप्रदान गरी मनाउन आग्रह गरेका हुन् ।

त्यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले मुस्लिम समुदायको महान् चाड इद–उल–अधा (बकर–इद)को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । आज शुभकामना सन्देश दिँदै उनले ‘इस्लाम धर्मावलम्बीहरूको महान् पर्व इद–अल–अधा (बकर–इद) को शुभ अवसरमा नेपालका सम्पूर्ण इस्लाम धर्मावलम्बी र स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरे ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषताले भरिपूर्ण मुलुक भएको उल्लेख गर्दै उपराष्ट्रतिले विभिन्न समुदायका चाडवाड, रीतिरिवाज र धर्म संस्कृतिले आपसी सहिष्णुता र राष्ट्रिय एकतालाई बलियो बनाउँदै आएको बताए्। उनले भाइचारा र पारिवारिक मिलनको रूपमा मनाइने इस्लाम धर्मवलम्बीहरूको महान् पर्व इद–अल–अधाले राष्ट्र निर्माण, राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, आपसी मित्रतालाई सुदृढ गर्ने विश्वास व्यक्त गरे।

त्यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व इद उल अज्हा (बकर–इद) को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली मुस्लिम दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति तथा समृद्धिको शुभकामना व्यक्त गरेका हुन् । उनले शुभकामना सन्देशमार्फत यस पर्वले सबै नेपालीलाई आफ्नो मौलिक परम्परा र संस्कृतिको संरक्षण, सम्बद्र्धन र विकास गर्दै सुसंस्कृत समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भनी शुभकामना दिए ।

बकर इद धैर्यता, विश्व शान्ति र भाइचाराको सन्देश दिने पर्व भएको उल्लेख गर्दै प्रधामन्त्री देउवाले यस पर्वले एकआपसमा खुसी र सद्भाव बढाउने विश्वास व्यक्त गरे । यस्ता चाडपर्वहरूले सबै समुदायबीच आपसी सद्भाव, भाइचारा र सहिष्णुता अभिवृद्धि भई राष्ट्रिय एकतालाई थप मजबुत बनाउने विश्वास लिए । नेपाली समाज विविध जातजाति, भाषाभाषी र संस्कृतिको साझा फूलबारीको रूपमा रहेको उल्लेख गर्र्दै प्रधानमन्त्री देउवाले यहीँ विविधताबीचको एकता नै हाम्रो राष्ट्रिय पहिचान भएको बताए ।