• बैशाख २३ २०८३, बुधबार

बँदेल मार्ने विषयमा रास्वपा र एमाले सांसदबीच चर्काचर्की

बैशाख २३ २०८३, बुधबार

काठमाडौं । प्रतिनिधिसभाको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको बुधबारको बैठकमा सांसदबीच चर्काचर्की नै पर्‍यो । एमाले र रास्वपाका सांसदबीच चर्काचर्की परेको हो ।

एमाले सांसद लक्ष्मीप्रसाद पोखरेलले जंगली जनावरले किसानलाई दुःख दिएको कुरा सुनाए । उनले बाँदरलाई बन्ध्याकरण र बँदेललाई मार्न पाउनुपर्ने कानुन बनाउनुपर्ने धारणा राखे ।

बँदेल मार्ने कुरा सुन्ने बित्तिकै रास्वपाकी सांसद आशिका तामाङले प्रतिवाद गरिन् । सांसद पोखरेलले आफ्नो पालोमा कुरा राख्न भन्दै अघि बढे।

सांसद तामाङले माननीय भएर बँदेल मार्ने कुरा नगरौँ भन्ने जवाफ दिइन् । पोखरेलले बँदेलले मान्छे मारेको बताए । सांसद तामाङले मार्ने कुरा गर्दै नगर्न अडान लिइरहिन् ।

सांसद पोखरेलले नमार्ने भए उचित व्यवस्थापनमा ध्यान दिनुपर्ने बताए । तामाङले जंगली जनावरको पनि बाँच्न पाउने अधिकार रहेको बताइन् । उनले जर्मनीको उदाहरण दिँदै जनवार मार्न नमिल्ने उल्लेख गरिन् ।

सांसदहरूबीच यस विषयमा सवाल जवाफ चलिरह्यो । सवाल जवाफ चर्किएसँगै समिति सभापति अशोककुमार चौधरीले वातावरण शान्त बनाए । बैठकमा रास्वपाका सांसद सागर ढकालले कुनै पनि विषयमा बोल्दा त्यसको अध्ययन हुनुपर्ने बताए ।

”समस्या मात्रै नउठाऊँ । समाधान पनि दिऊँ । अध्ययन गरेर बोलौँ । बाँदर र बँदेल नियन्त्रणको उपाय के हुनसक्छ अध्ययन गरौँ । कार्यान्वयनमा जाऔँ,” ढकालको भनाइ थियो ।

ढकालको भनाइ लगत्तै सांसद तामाङ जर्मनीको उदाहरण दिँदै फेरि कड्किइन् । ”म १५ वर्ष जर्मन बसेर आएको त्यहाँ कुनै जनावर मार्ने गरिँदैन । हरेक क्षेत्रमा इलेक्ट्रिक तारबार लगाइन्छ”, उनले भनिन् ।