वीरेन्द्रनगर । मुगुमा खाद्यान्न ढुवानीको जिम्मा लिएको खडक निर्माण सेवाले चामल ढुवानी नगरिदिँदा गमगढीस्थित खाद्यको गोदाम खाली भएको छ । गोदाममा चामल सकिएपछि उपभोक्ता रित्तै फर्किनु परेको छ ।
चालु आर्थिक वर्षको ११ हजार क्विन्टल कोटामध्ये सुर्खेतदेखि ९ हजार क्विन्टल ढुवानी गर्न खडक निर्माण सेवाले ठेक्का पाएको छ । तर कम्पनीले अहिलेसम्म ९ सय क्विन्टल चामल मात्र ढुवानी गरेको छ । गत कात्तिक १३ देखि ठेकेदारले चामल ढुवानी नगर्दा गोदाम खाली भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका निमित्त प्रमुख पुष्कर भामले बताए ।
‘हिउँ पर्न थालिसक्यो, गोदाममा चामल छैन,’ उनले भने, ‘ठेकेदारले भने ढुवानीमा आनाकानी गरिरहेका छन् ।’ ठेकेदार रामदेवी खड्काको लापरबाहीले गोदाममा एक सय क्विन्टल चामल मात्र मौज्दात रहेको कम्पनीले जनाएको छ । कम्पनीले प्रादेशिक कार्यालय सुर्खेतबाट मुगुसम्म चामल ढुवानी गर्न प्रतिकिलो ६ रुपैयाँमा ढुवानी ठेक्का लिएको थियो ।
गोदाममा चामल नभएपछि बजारको महँगो चामल दोब्बर मूल्यमा किनेर उपभोग गर्न सर्वसाधारण बाध्य छन् । खाद्यमा पाइने सस्तो मूल्यको चामल सकिँदा गाह्रो भएको छायानाथ रारा नगरपालिकाकी लक्ष्मी भामले बताइन् ।
‘मजदुरी गरेर परिवार पाल्नुपर्छ, महँगोमा चामल किनेर कसरी जीविका चलाउने ?’ उनले भनिन् । स्थानीयले खाद्यमा २५ किलोको एक बोरा चामल १ हजार ५ सय रुपैयाँमा पाउने भए पनि बजारमा २ हजार रुपैयाँमा किन्नुपर्ने बाध्यता छ । आजको कान्तिपुरमा समाचार छापिएको छ ।