काठमाडौं । मूल्यवृद्धि नियन्त्रणको विषयलाई लिएर मन्त्री र सांसदबीच राष्ट्रियसभामा नोकझोक भएको छ ।
बिहीबार बसेको राष्ट्रियसभा बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र सांसद श्रीकृष्ण अधिकारीबीच नोकझोक भएको हो ।
सांसद अधिकारीले मन्त्रीलाई सरकारले मूल्यवृद्धि नियन्त्रणमा बेवास्ता गरेको भन्दै प्रश्न सोधेका थिए। त्यसको जवाफमा मन्त्री साहले उक्त आरोप तथ्यसंगत नरहेको जवाफ दिए ।
सांसद अधिकारीले बजारमा दाल, चामल, चिनी लगायतका उपभोग्य सामाग्रीको मूल्य बढेको बताएका थिए । जवाफमा मन्त्री साहले ११० रुपैयाँ भन्दा बढीमा चिनी खरिद गर्नुपर्ने अवस्था आएमा तुरून्तै जानकारी गराउन मन्त्री अधिकारीलाई जवाफ दिए ।
उनले चामलको मूल्य समेत १० प्रतिशतले घटेको जिकिर गरे । ”चामलको मूल्यसमेत १० प्रतिशतले घटेको छ । चिनी ११० रुपैयाँमा उपलब्ध छ,” मन्त्री साहले भने ।
पूरक प्रश्नमा सांसद अधिकारीले मन्त्रीबाट राम्रो जवाफ आएको तर बजारको स्थिति फरक रहेको जिकिर गरे । मन्त्रीले बजार अनुगमन नगरी जवाफ दिएको उनको आरोप थियो । मन्त्रीको जवाफले मात्रै चाडपर्वको मुखमा उपभोक्ता न्याय नपाउने सांसद अधिकारीले बताए । त्यसको जवाफमा मन्त्री साहले भने“बजारका मलमा गएर आजै चिनी खरिद गर्नुहोस् ११० मा आएन भने हामी पुन अनुगमन गर्नेछौँ । सबैको जय होस् ।”
सांसद अधिकारीले पछिल्लो एक महिनामा चामल, दाल, तेलसहितका दैनिक उपभोग्य वस्तुको मूल्य अस्वाभाविक आकासिएको भन्दै उपभोक्ता संरक्षण विभागबाट समेत उचित अनुगमन हुन नसकेको बताएका थिए ।
“संविधानले तोकेको उपभोक्ता हित संरक्षणका लागि प्राविधिक जनशक्ति थपेर उपभोक्ता संरक्षण विभागलाई प्रभावकारी बनाइने छ,” मन्त्री साहले भने, “दरबन्दी थप भइसकेको छ ।”
मन्त्री साहले बजारलाई प्रतिस्पर्धी बनाउन तीनवटै तहका सरकारको समन्वय आवश्यक रहेको बताए । कालोबजारी, कृत्रिम अभावजस्ता कार्य गर्नेलाई शून्य सहनशीलताको नीति अनुसार फिल्डमै कारबाही गरिँदै आएको बताए ।
मन्त्री साहले उपभोक्ता अदालत सातवटै प्रदेशमा विस्तार हुने बताए ।