• मंसिर १३ २०८१, बिहीबार

पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता हुँदैन : निगम

कार्तिक २६ २०७८, शुक्रबार

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता नहुने स्पष्ट पारेको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा निगमका प्रवक्ता विनितमणि उपाध्यायले निगमले पछिल्लो समय पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता नहुने बताएका हुन् ।

प्रवक्ता उपाध्यायले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरिनु निगमको बाध्यता भएको बताए । उनले मूल्यवृद्धि नगर्दा निगमलाई अरबौँ घाटा हुने भएकाले बाध्य भएर मूल्यवृद्धि गरिएको स्पष्ट पारे ।

कार्यक्रममा यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता नलिए देशभरका सार्वजनिक यातायात बन्द गर्ने चेतावनी दिए । उनले राजनीतिक दलले नै आयल निगमलाई चलाएको आरोप पनि लगाए ।

त्यस्तै अनेरास्ववियु (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंहले आफ्नो संगठन स्थापना कालदेखि नै न्याय र सत्यको पक्षमा उभिँदै आएको भन्दै निगमले गरेको मूल्यवृद्धि तत्काल फिर्ता लिनुपर्ने बताइन् ।

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीनिकट विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले आयल निगमका प्रवन्ध निर्देशक सुरेन्द्र पौडेललाई तत्काल बर्खास्त गर्न सरकारसमक्ष आग्रह गरे ।