• फाल्गुन २८ २०८२, बिहीबार

सत्ता गठबन्धनसँग बहुमत छ, एमसीसी पारित गरे हुन्छ : प्रदीप ज्ञवाली

आश्विन २ २०७८, शनिबार

काठमाडौँ। नेकपा (एमाले) का प्रवक्ता एवं पूर्वमन्त्री प्रदीप ज्ञवालीले अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेन्ज कर्पोेरेशन (एमसीसी) सम्झौता प्रधानमन्त्री शेरबहादुर देउवाले अघिल्लो आफ्नो सरकारको पालामा गरेकाले पारित गर्ने दायित्व पनि उहाँको रहेको बताएका छन्।

टोखाको नयाँ किरण समूहद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रवक्ता ज्ञवालीले भने , “अहिले वर्तमान सरकारसँग १६५ सांसद छन, प्रतिपक्षीविनै उहाँहरुले संसदबाट एमसीसी पारित गर्न सक्नुहुन्छ ।”

उनले एमसीसी सम्झौता देउवा नेतृत्वको सरकारले गरे पनि गाली भने ओली नेतृत्वको सरकारले खाएको टिप्पणी गरे। उनले भने, “एमसीसी पारित गर्ने तपाईहरुको इच्छा हो भने संसदमा प्रस्ताव ल्याउनुस्, त्यतिबेला हामीले के गर्नुपर्ने हो पोजिशन क्लियर गरौंला ।”

यसअघि ओली नेतृत्वको सरकारले एमसीसी प्रस्ताव संसदमा अगाडि बढाउँदा अहिलेका सत्ता गठनन्धन दलहरुले सडकमा आगो बोल्ने काम गरेको उनले स्मरण गरे ।

वर्तमान सरकारले नेपाली भूभाग लिम्पियाधुरा, लिपुलेक, कालापानीको विषयलाई छाडेर चीनसँगको सीमा समस्या उठाएर विषय मोड्न खोजेको पनि उनले आरोप लगाए ।