काठमाडौं । नेपालको राजनीतिको गाँठो अझै फुकेको छैन । सजिलै यो गाँठो फुक्ने सम्भावना पनि देखिँदैन । किन की नेपालको राजनीतिक प्रणाली यस्ता धेरै गाँठाहरु मिलेर बनाइएको छ । धेरै अघिको कुरा नगरौं । हिजो केपी ओली प्रम हुँदा देउवाहरु प्रतिपक्षमा थिए ।
आज देउवा प्रम बनेका छन् । तर ओलीले संसद अवरुद्ध गरिरहेका छन् । यसबीच प्रधानमन्त्री शेरबहादुर देउवाले संसदको गतिरोध हटाउने प्रमुख प्रतिपक्षी एमालेका नेता केपी ओलीसँग संवाद अगाडि बढाएका छन् ।
अध्यक्ष ओलीसँग छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई ओली निवास बालकोट पठाएका हुन् । प्रमुख प्रतिपक्षी दलका नेतालाई विश्वासमा लिने देउवाको सन्देश लिएर कार्की ओलीलाई भेट्न बालकोट गएका थिए ।
संसदको गतिरोध हटाउने विषयमा छलफल गर्न सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक एमालेले बहिस्कार गरेपछि देउवाले आफ्ना विश्वासपात्र कार्की मार्फत संवाद थालेका छन् । संसदको सबैभन्दा ठूलो दल एमालेको सहयोगबिना संसद सञ्चालन गर्न अप्ठ्यारो पर्ने देखेपछि देउवाले ओलीसँग सम्बन्ध बढाउन चाहेको देखिन्छ ।
बिहीबारको छलफलमा संसदको गतिरोध अन्त्य र विधेयक अगाडि बढाउने लगायतका विषयमा छलफल भएको कार्कीले जानकारी दिए । त्यसका लागि मन्त्री कार्कीले ओलीलाई संसद अवरोध नगरिदिन आग्रह गरेका थिए । एमालेले सभामुखले पार्टी विभाजनका लागि भूमिका खेलेको भन्दै एमाले संसद अवरोध गरिरहेको छ ।
संसद अवरोध भएपछि सरकारले ल्याएको बजेट सम्बन्धी प्रतिस्थापन विधेयकमाथिको विचार गरियोस् भन्ने प्रस्ताव मात्र पारित भएको छ । संसद अवरुद्ध भएको अवस्थामा सरकारले बजेटको प्रतिस्थापन विधेयक पारित गर्न नसकेपछि बिहीबारबाट सरकारी खर्च बन्द भएको छ । यस्तै ओली सरकारले ल्याएका १५ अध्यादेशमध्ये १२ अध्यादेश निष्क्रिय भएका छन् ।
निष्क्रिय भएका दुई अध्यादेशका व्यवस्थालाई निरन्तरता दिन सरकारले नयाँ विधेयक संसदमा दर्ता गरेको छ । बुधबार मध्यरातबाट निष्क्रिय भएका फौजदारी कसुर र फौजदारी कार्यविधि सम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश र यौन हिंसाविरुद्ध केही नेपाल ऐन संशोधन अध्यादेशकै व्यवस्था समेटेर नयाँ विधेयक दर्ता गरिएको हो ।
कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका तर्फबाट बिहीबार विधेयक दर्ता भएको हो । दर्ता विधेयक अब संसदको नियमित प्रक्रियाबाटै अघि बढ्नेछ । निष्क्रिय भएका अध्यादेशकै विषय समेटेर नयाँ विधेयक ल्याइएको हो । मुख्यत बजेटको प्रतिस्थापन विधेयक पारित गर्न असोज ४ गते सोमबारका लागि संसद बैठक बोलाइएको छ ।