• फाल्गुन २८ २०८२, बिहीबार

एमाले सुदूरपश्चिम प्रदेश इञ्चार्जमा रावल र भट्टको आ-आफ्नै दाबी

भाद्र ३१ २०७८, बिहीबार

काठमाडौं । देशका ७ वटा प्रदेशमध्ये २ वटा प्रदेश इञ्चार्जको विषयलाई लिएर नेकपा (एमाले)भित्र विवाद उत्पन्न भएको छ । अन्य ५ वटा प्रदेशको हकमा विवाद नभए पनि बागमती र सुदूरपश्चिम इञ्चार्जको विषयलाई लिएर पार्टीभित्र विवाद उत्पन्न भएको हो ।

एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा बदर भए पश्चात् देशका दुई ठूला राजनीतिक दल नेकपा (एमाले) र माओवादी केन्द्र पूर्ववत् अवस्थामा फर्किएका छन् । यी दुई पार्टी पूर्ववत् अवस्थामा फर्किएपछि रामबहादुर थापा ‘बादल’, लेखराज भट्टलगायत केही नेता माओवादी केन्द्रमा नफर्किएर एमालेमै रहेका छन् । उनीहरू माओवादीमा नफर्केपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले बादललाई बागमती र लेखराज भट्टलाई सुदूरपश्चिम प्रदेशको इञ्चार्ज बनाए ।

यो समयमा एमाले तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष ओलीको विरोधमा उत्रिएको थियो । उसले पार्टीको संरचना पूर्ववत् अवस्थामा फर्काउन ओलीलाई आग्रह गरेको थियो । एमाले नवौँ राष्ट्रिय महाधिवेशन अर्थात् २०७५ जेठ २ मा गठित सांगठानिक संरचना फर्काउनु पर्ने भन्दै विरोध गरिरहेको थियो । ठीक यही समयमा ओलीले पार्टीको संरचना फेरबदल गरे । उनले २०७७ फागुन २८ मा फेरबदल गरेको संरचनाअनुसार बागमती इञ्चार्ज अष्टलक्ष्मी शाक्यलाई हटाएर बादललाई बनाए भने सुदूरपश्चिम इञ्चार्ज भीम रावललाई हटाएर लेखराज घट्टलाई बनाए ।

त्यसपछि एमाले अध्यक्ष ओली र तत्कालीन वरिष्ठ नेता नेपाल पक्षको उतार–चढावबीच पार्टी एकताका लागि भन्दै १० बुँदे सहमति भयो । उक्त सहमतिमा मुख्य त पार्टीको सांगठानिक संरचना २०७५ जेठ २ मा फर्किनु पर्ने सहमतिसमेत भयो । भीम रावल, अष्टलक्ष्मी शाक्य लगायतले १० बुँदे सहमतिका आधारमा पार्टी एकीकरण भएको भन्दै एमालेमा फर्किए । तथापि माधवकुमार नेपाल लगायतका अधिकांश नेताहरूले १० बुँदे सहमति ओलीले कुनै हालतमा कार्यान्वयन नगर्ने भन्दै एमालेमा फर्किएनन् ।

उनीहरू पार्टीमा फर्किनुको साटो माधवकुमार नेपालको अध्यक्षतामा नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी) दर्ता गराएर अगाडि बढेका छन् । तर, नेपालनिकट मानिने भीम रावल, अष्टलक्ष्मी शाक्य, घनश्याम भुषाललगायत केही नेता एमालेमै फर्किए । यद्यपि उनीहरू एमालेमा जुन सहमति गरेर फर्किएका थिए, उक्त सहमति ओलीले कार्यान्वयन नहुने बताइ सकेका छन् । ओलीको यो पछिल्लो अभिव्यक्ति सुनेर उनीहरू चिन्तित बनेका छन् । यद्यपि बादलको हकमा भने केही समयलाई विवाद टरेको छ । किनकि बागमती प्रदेश इञ्चार्ज अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बनेकी छन् भने अहिलेलाई उनको स्थानमा बादललाई नै इञ्चार्ज तोकिएको छ ।
सुदूरपश्चिम इञ्चार्जको हकमा भने विवाद सतहमा आएको छ । दिनानुदिन यो विवाद बल्झिदै गएपछि अध्यक्ष ओलीले लेखराज भट्टलाई आफ्नै निवास बालकोट बोलाएर भट्ट नै उक्त प्रदेशको इञ्चार्ज भएको बताएका छन् । तर, रावलले सुदूरपश्चिमको इञ्चार्ज आफू नै भएको दाबी गर्दै आएका छन् । उनले यतिबेला सुदूरपश्चिम प्रदेशमा आफूनिकट नेताहरूसँग भेटवार्ता गर्दै आएका छन् । रावल र भट्टले आफैं सुदुरपश्चिम प्रदेश इन्चार्ज भएको दाबी गरिरहेका छन् ।

रावलले कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा पटकपटक ‘म पार्टीको उपाध्यक्ष र सुदूरपश्चिम संयोजकको हैसियतमा छु, पार्टीको हित हुन्छ भने म पद छाड्न डराउने मान्छे होइन, तर उपलब्धि नहुने गरी कसैले कसैलाई जिम्मा दिन्छ भने त्यसको अर्थ छैन ।’ कञ्चनपुरमा आयोजित पत्रकार सम्मेलनमा भट्टले एमाले सुदूरपश्चिमको इन्चार्ज आफू नै भएको दाबी गरे । भट्टले पार्टीको सुदूरपश्चिम इन्चार्ज आफू नै भएको बताउँदै भने, ‘अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि जिम्मेवारी बाँडफाँड गरेर मलाई प्रदेश इन्चार्ज तोक्नु भएको हो । इन्चार्जको विषयमा कुनै विवाद छैन ।’